बैंकको बचत र एसआइपीको प्रतिफल उस्तै? एसएसआइएसको ३% लाभांशपछि साना लगानीकर्ता निराश, अरूको अवस्था के होला?

Jul 28, 2026 05:31 AM Merolagani



वाणिज्य बैंकहरूले साधारण बचत खातामै औसत २.७५ प्रतिशतसम्म ब्याज दिइरहेका बेला सिद्धार्थ क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना 'सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम' (SSIS) ले गत आर्थिक वर्ष २०८२/८३ का लागि मात्र ३ प्रतिशत प्रतिफल (नगद लाभांश) घोषणा गरेपछि यसले शेयर बजारमा नयाँ तरंग सिर्जना गरेको छ।

जोखिम प्रायः शून्य हुने बैंकको निक्षेपमा सावाँ-ब्याज सुरक्षित रहन्छ तर, शेयर बजारको पुँजीगत जोखिम मोलेर गरिएको लगानीबाट बचत खातासरह मात्रै प्रतिफल आउनुले फन्ड व्यवस्थापकहरूको कार्यकुशलता र पोर्टफोलियो छनोटमाथि गम्भीर प्रश्न उठाएको छ। क्यापिटल गेन नलाग्ने, लाभांश कर छुट हुने, आईपीओमा आरक्षण पाइने र २४ महिनाभित्र बाहिरिनेसँग एक्जिट फी समेत असुलिने सुविधा हुँदाहुँदै पनि प्रतिफल शून्य बराबर आउनु चिन्ताजनक रहेको अधिवक्ता ज्योति दाहाल बताउँछन्। एसएसआइएसकाे यो निर्णयपछि अहिले बजारमा अन्य खुलामुखी फन्डहरूले कति प्रतिफल देलान् भन्ने चासो र अन्योल बढेको छ।

खुलामुखी फन्ड र एसआईपीको नेपालमा विस्तार

नेपालको पुँजी बजारमा साना तथा आम लगानीकर्ताका लागि अनुशासित र दीर्घकालीन लगानीको बलियो माध्यमका रूपमा खुलामुखी सामूहिक लगानी कोष र यसअन्तर्गतको व्यवस्थित लगानी योजना (एसआईपी) विस्तार भइरहेका छन्। धितोपत्र बोर्डबाट स्वीकृति लिई विभिन्न क्यापिटलहरूले यस्ता कोष सञ्चालन गर्दै आएका छन्।

नेपालमा पहिलोपटक विक्रम संवत् २०७६ जेठ १९ गतेदेखि एनआईबीएल सहभागिता फन्डमार्फत विधिवत् रूपमा खुलामुखी योजना र एसआईपीको सुरुआत भएको थियो। त्यसयता सिद्धार्थ सिस्टम्याटिक इन्भेष्टमेन्ट स्किम, एनएमबी सरल बचत फन्ड-ई, एनआईसी एशिया डाइनामिक डेब्ट फन्ड, नबिल फ्लेक्सी क्याप फन्ड, कुमारी सुनौलो लगानी योजना र शुभलक्ष्मी कोष जस्ता दर्जनभन्दा बढी योजनाहरू सञ्चालनमा आइसकेका छन्।

निश्चित समयावधिपछि परिपक्व हुने बन्दमुखी फन्डको तुलनामा खुलामुखी फन्ड जुनसुकै बेला खरिद-बिक्री गर्न सकिने भएकाले लगानीकर्ताका लागि लचिलो मानिन्छ। यी फन्डहरूले साना लगानीकर्ताहरूबाट सङ्कलित रकमलाई शेयर बजार, ऋणपत्र र बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा विविधीकरण गरी लगानी गर्छन्।

अघिल्ला वर्षको प्रतिफल इतिहास

नेपालको सेयर बजारमा आउने उतारचढावका बाबजुद खुलामुखी फन्डहरूले आफ्ना इकाइधनीहरूलाई विगतमा राम्रै लाभांश वितरण गर्दै आएका थिए। एनआईबीएल सहभागिता फन्डले आर्थिक वर्ष २०७६/७७ मा ८.२५ प्रतिशत, बजार उच्च बिन्दुमा पुगेको वर्ष २०७७/७८ मा ५० प्रतिशत, २०७८/७९ मा ७.२ प्रतिशत, २०७९/८० मा ४ प्रतिशत र २०८१/८२ मा ७ प्रतिशत नगद लाभांश दिएको इतिहास छ।

त्यसैगरी अन्य फन्डहरूले पनि अघिल्ला वर्षहरूमा ७ देखि १६ प्रतिशतसम्म लाभांश बाँडेका थिए। तथापि, सेयर बजारको सुस्तता र फन्ड व्यवस्थापकहरूको लगानी रणनीतिमा देखिने भिन्नताका कारण पछिल्लो समय सबै फन्डको प्रतिफल सोचेजस्तो उत्साहजनक हुन सकिरहेको छैन।

एक वर्षको लाभांश कि दीर्घकालीन चक्रवृद्धि?

विशेषज्ञहरूका अनुसार एसआईपी र म्युचुअल फन्डको मूल्याङ्कन केवल एक वर्षको लाभांशका आधारमा मात्र गरिनु पूर्ण हुँदैन। एसआईपीमार्फत लगानी गर्दा बजार माथि जाँदा थोरै इकाइ र बजार घट्दा धेरै इकाइ खरिद हुने हुनाले लगानीको औसत लागत घट्न पुग्छ।

विगतको तथ्याङ्क अनुसार ३ देखि ५ वर्षसम्म निरन्तर मासिक एक हजार वा सोभन्दा बढी एसआईपी गर्ने लगानीकर्ताहरूले वार्षिक रूपमा औसत १० देखि १५ प्रतिशतसम्मको चक्रवृद्धि प्रतिफल प्राप्त गरेका छन्। अल्पकालीन रूपमा शेयर बजार सुस्त रहँदा फन्डको खूद सम्पत्ति मूल्य घटेर लाभांश दर कम देखिए पनि बजारले लय समात्दा यसको पुँजीगत वृद्धि र प्रतिफल दुवै बढ्ने सम्भावना रहन्छ।

साना लगानीकर्ताका लागि विकल्प र सुझाव

मासिक न्यूनतम एक हजार रुपैयाँबाटै लगानी सुरु गर्न सकिने भएकाले विद्यार्थी र साना कमाइ हुनेहरूका लागि यो अझै पनि अनुशासित बचतको उत्तम माध्यम बनेको छ। प्राप्त लाभांशलाई नगदमा नलगी पुनः सोही फन्डको इकाइ खरिदमा लगाउन सकिने लाभांश पुनःलगानी सुविधाले दीर्घकालमा चक्रवृद्धि प्रतिफलको ठूलो फाइदा पुर्‍याउँछ। साथै, आवश्यक परेको खण्डमा जुनसुकै बेला खूद सम्पत्ति मूल्य (NAV) का आधारमा इकाइ बिक्री गरी रकम फिर्ता लिन सकिने सुविधा पनि यसमा उपलब्ध छ।

 

बैंकिङ प्रणालीमा ब्याजदर निकै तल्लो बिन्दुमा झरेको र शेयर बजारमा उतारचढाव कायमै रहेको वर्तमान परिस्थितिमा लगानीकर्ताहरूले केवल वार्षिक लाभांशको अंक मात्र नहेरी फन्डको खुद सम्पत्ति मूल्यमा आएको सुधार, लगानी विविधीकरण र दीर्घकालीन सम्भाव्यतालाई ध्यानमा राखेर निर्णय लिनु बुद्धिमानी हुने देखिन्छ।