बजारमा अहिले शेयर सप्लाईको चाप उच्च रहेकाले केही दिन बजार थप घट्न सक्ने बुझाई छ। अपरेटरहरूले बजार बढाउन खोजे पनि १०–२० रुपैयाँ बढ्ने बित्तिकै बिक्रीको चाप आइहाल्ने र बजार माथि जान संघर्ष गरेको बुझाई छ । बजार बढ्न नसक्नुमा सरकारी नीति र प्रशासनको कडाइलाई पनि एउटा कारण मानिएको छ। तर पछिल्ला समय नीतिगत रुपमा भएका सहजतालाई समेत बजारले कुनै वास्ता गरेको छैन ।
लगानीकर्ताहरूलाई नेप्से सूचक (इन्डेक्स) मात्र नहेरी व्यक्तिगत कम्पनी (स्टक)को प्राविधिक पक्ष हेरेर लगानी गर्नुपर्ने सुझाइएको छ । उच्च आपूर्तिका कारण दाेस्राे बजार दबाब परेको छ। अर्कोतर्फ सो पैसा अन्य उपभोग्य वस्तुमा खर्च हुने तर बजारमा नफर्कने प्रवृत्तिले गर्दा माग र आपूर्तिको सन्तुलन बिग्रिएको बताउँछन प्राविधिक विश्लेषक राजन सुवेदी । तीनै सुवेदीसँग सुधा देवकोटाले गरेको कुराकानीः
अहिलेको बजार केही दिन बढेजस्तो गरेर पुनः घट्न थालेको छ। बजारमा खास भइरहेको के हो?
अहिले बजारमा सप्लाई (आपूर्ति) हेभी भएको छ। प्राविधिक रूपमा भन्नुपर्दा मार्केट एउटा डाउन ट्रेन्डमा थियो र त्यसलाई ब्रेक पनि गरेको थियो। स्मार्ट मनी कन्सेप्टको आधारमा २५६० को अर्डर ब्लकलाई बजारले रेस्पेक्ट गर्नुपर्ने थियो, तर त्योभन्दा तल झरेर २५४५ सम्म आयो । यसलाई हामी लिक्विडिटी स्वि’ भएको भन्छौँ।
फिबोनाची टुल प्रयोग गर्दा ०.५ देखि ०.६१८ को गोल्डेन रेसियो वा अप्टिमल ट्रेड इन्ट्री जोनबाट मार्केट फर्किनु नै पर्ने हुन्थ्यो। त्यहीँबाट फर्कियो पनि। तर, बढ्दै गर्दा ब्रेक–अवे ग्याप बनेको छ र माथिल्लो तहमा रिजेक्सन आइरहेको छ। अहिलेको अवस्थामा मार्केट २६३० वा २६१० सम्म करेक्सन हुन सक्ने सम्भावना छ। अपरेटरहरूले बढाउन खोजे पनि १०–२० रुपैयाँ बढ्ने बित्तिकै मानिसहरू बेचेर निस्किहाल्छन्। जसले गर्दा सप्लाई बढ्यो। साथै, नयाँ सरकार र बालेन (प्रशासन) को सक्रियतापछि अपरेटरहरू माथि कारबाही र अनुसन्धान सुरु भएकाले उनीहरूमा कन्फिडेन्सको कमी देखिएको छ। तर, बजारले नयाँ लो बनाउने सम्भावना भने कम छ।
कतिपएले इन्डेक्स (सूचक) भन्दा पनि स्टक (कम्पनी) हेर्नुपर्छ भन्छन्। अहिले स्टकहरूको अवस्था कस्तो छ?
प्राविधिक रूपमा हेर्ने हो भने डिमान्ड जोनमा भोलुम आउन थालेको छ वा लामो समयदेखि एक्युमुलेसन (संकलन) भइरहेको छ भने त्यस्ता स्टक चल्छन्। हामीले फन्डा (समाचार-सूचना) पनि हेर्नुपर्छ। जस्तै एचपीपीएलमा र एनआरएनको लगानी र उनीहरूको नाफा बढाउने योजनाले काम गर्यो।
कुनै स्टक संस्थागत लगानीकर्ताको डिमान्ड जोनबाट फर्किएको छ भने त्यो पावरफुल हुन्छ। यसका लागि नेपाल स्टक एक्सचेन्जको वेबसाइटबाट टप गेनर, टप टर्नओभर र टप भोलुम भएका करिब ४० वटा स्टकलाई दैनिक विश्लेषण गर्नुपर्छ। ३०–४० वटा स्टक पोर्टफोलियोमा राखेर बजार ३२०० पुग्दा पनि फाइदा हुँदैन, बरु स्मार्ट मनी भएका सीमित र राम्रा ४–५ वटा स्टकलाई ट्र्याक गर्नु उचित हुन्छ। नेप्से सूचक मात्र हेरेर बस्नुभन्दा मोमेन्टम भएका स्टकमा केन्द्रित हुनुपर्छ।

तपाईको आफ्नो इन्ट्री र एक्जिट स्ट्रयाटेजी चाहिँ के हुन्छ?
म मुख्यतया शेल साइड लिक्विडिटी लिएको एरिया र आरएसआईमा बुलिस डाइभर्जेन्स हेर्छु। फिबोनाचीको ०.७८६ को स्तरलाई पनि महत्व दिन्छु। मैले हालै ए भन्ने कम्पनीलाई नजिकबाट हेरेको छु । सो कम्पनी ३५० को आसपास इन्ट्री गरेको थिएँ। जसको पहिलो टार्गेट ३९० थियो र अहिले ४११ देखि ४४३ सम्मको टार्गेट राखेको छु। म अनमिटीगेटेड अर्डर ब्लक (जहाँ पहिले सेलिङ भएको थियो तर टेस्ट भएको छैन) मा मार्केट आउँदा इन्ट्री गर्छु। यदि ३९० भन्दा तल क्लोज भयो भने म निस्किन्छु। मेरो स्ट्रयाटेजी भनेकै डिमान्ड जोनमा किन्ने र सप्लाई जोनमा बेच्ने हो।
स्मार्ट मनीले अहिले के गरिरहेको छ? उनीहरू कुन स्टकमा केन्द्रित छन्?
स्मार्ट मनी अहिले आफू फसेको स्टकबाट निस्किन खोजिरहेको छ। उनीहरू सधैँ साइलेन्ट्ली एक्युमुलेसन गर्छन् र लाउडली डिस्ट्रिब्युसन (बिक्री) गर्छन्। जब बजारमा कुनै स्टकको बारेमा जताततै सकारात्मक न्युज आउँछ, सम्झनुहोस् त्यो डिस्ट्रिब्युसन फेज हो। अपरेटरहरूले रिटेलरलाई फसाउनका लागि चार्ट र न्युजको प्रयोग गर्छन्। हामीले चाहिँ चार्ट र भोलुम हेरेर उनीहरू कुन फेज (एक्युमुलेसन, म्यानिपुलेसन, मार्क–अप वा डिस्ट्रिब्युसन) मा छन् भन्ने पत्ता लगाउनुपर्छ।
अहिलेको बजारबाट कमाउने अवसर छ कि छैन?
ट्रेडरका लागि अवसर जहिले पनि हुन्छ। मार्केट १८ सय देखि २२ सयको बीचमा हुँदा पनि होटल र फाइनान्स चलेकै हुन्। मुख्य कुरा, भोलुमेट्रिक एक्टिभिटी भएका स्टकमा सिफ्ट हुन सक्नुपर्छ। अहिले हाइड्रो र केही माइक्रोफाइनान्समा एक्युमुलेसन देखिन्छ। बैंकिङमा पनि सानो र्याली आउन सक्छ। तर, मुख्य समस्या भनेकै कन्फिडेन्सको हो। सरकारले लगानीकर्ता र व्यवसायीलाई तर्साउने भन्दा पनि काम गर्ने वातावरण बनाइदिनुपर्छ।
बजारमा सप्लाई बढ्नुको मुख्य कारण के हो? यसलाई कसरी समाधान गर्न सकिन्छ?
अहिलेको मुख्य सप्लाई आईपीओबाट आइरहेको छ। पाँच हजारको लगानी गरेका मानिसहरू ५० हजार पुग्ने बित्तिकै बेचेर निस्किन्छन् र त्यो पैसाले मोबाइल वा अन्य उपभोग्य वस्तु किन्छन्। त्यो पैसा सेकेन्डरी मार्केटमा फर्किएको छैन। लगानीकर्तालाई पावर अफ कम्पाउन्डिङ बुझाउन जरुरी छ। राम्रा कम्पनीहरू बुक बिल्डिङबाट आउनुपर्छ। डुब्न लागेका कम्पनीहरूलाई आईपीओ ल्याउन दिएर रिटेलरलाई भिराउने काम रोकिनुपर्छ।
लगानीकर्ताहरूले गर्ने मुख्य गल्ती चाहिँ के देख्नुहुन्छ?
सबैभन्दा ठूलो गल्ती ओभरट्रेड हो। बजारमा सेटअप छैन भने ६ महिना नै कुर्न सक्नुपर्छ। तर, हामीसँग पैसा हुने बित्तिकै जबर्जस्ती सेटअप बनाएर इन्ट्री गर्छौँ, जसले तनाव मात्र दिन्छ। अर्को कुरा, १०–२० रुपैयाँ बढ्ने बित्तिकै लोभले गर्दा नबेच्ने र स्टप लस नगर्ने समस्या छ। सिस्टम, स्ट्रयाटेजी र डिसिप्लिन (अनुशासन)मा बस्ने हो भने हारिँदैन। बजारमा नोइज (हल्ला) लाई इग्नोर गर्नुहोस्। फेसबुक ग्रुपका हल्ला भन्दा आधिकारिक मिडिया र आफ्नो प्राविधिक विश्लेषणमा विश्वास गर्नुहोस्।
आगामी दिनमा बजारको बाटो कस्तो देख्नुहुन्छ?
तत्कालै तीन हजार वा ३२ सय ब्रेक गरेर बजार माथि गइहाल्ने अवस्था देखिँदैन किनकि बलियो एक्युमुलेसन छैन। इन्ट्राडे र सर्ट सेलका कुराहरू भइरहेका छन् । यो ट्रेडरका लागि राम्रो हो तर बुझ्दै नबुझेका रिटेलरका लागि जोखिमपूर्ण हुन सक्छ। त्यसैले, लगानीकर्ताले पहिले सिक्नुपर्छ। सिक्नका लागि गरिने खर्च लगानी हो, नोक्सानी होइन।
अहिलेको लागि मार्केटमा धेरै पोजेटिभ भइहाल्नु पर्दैन। यदि तपाईँ फस्नुभएको छ र बजार बढ्छ भने बाहिरिनका लागि अवसर खोज्नु नै बुद्धिमानी हुनेछ। अपरेटरहरू आफैँ बायर कुरेर बसेका छन्। त्यसैले, सचेत भएर ट्रेड गर्नुहोस्।