गर्मीमा ज्याकेट र जाडोमा टिसर्ट लगाएर हिँड्नु घातक भएजस्तै ट्रेन्डविपरीत गरिएकाे लगानीले डुबाउन सक्छ

Aug 13, 2026 05:56 PM Merolagani



शेयर बजारमा लगानी गर्नुपूर्व विभिन्न अध्ययन र अनुसन्धान गर्नु पर्ने हुन्छ । प्राविधिक र आधारभूत विश्लेषण गर्नु जरुरी छ ।

लगानीकर्ताको सबैभन्दा ठूलो कमजोरी अध्ययनको अभाव र गलत अपेक्षा हो। एउटा सामान्य चिया पसल खोल्न महिनौँ तयारी र रिसर्च गर्ने मानिसले आफ्नो जीवनभरको कमाइ शेयर बजारमा लगाउँदा भने सामान्य कुरा सिक्न पनि अल्छी गर्छन्।

लगानीकर्तामा छिट्टै धनी बन्ने मानसिकता हुन्छ । धनी बन्नका लागि अरूको देखासिखी गर्ने वानी छ । अध्ययन विना र देखासिखीमा गरिएकाे लगानी डुब्ने उच्च सम्भावना हुने गरेकाे प्राविधिक विश्लेषक अशोक कुमार शाह बताउँछन् । तीनै शाहसँग सुधा देवकोटाले गरेको कुराकानीः

शेयर बजारका लगानीकर्ताले अध्ययनका लागि स्रोत खोजिरहेका बेला तपाईले प्राविधिक विश्लेषण सम्बन्धी बुक ल्याउनुभएको छ। यो पुस्तक पढेर लगानीकर्ताले बजारलाई कसरी बुझ्न सक्छन?

मेरो पूँजी बजारको यात्रा सन् २००८ देखि कमोडिटी मार्केटबाट सुरु भएको हो। लामो समय अन्तर्राष्ट्रिय बजारको अभ्यास र हाल चार्टर्ड मार्केट टेक्निसियन (सीएमटी) लेभल २ को अध्ययनको अनुभवलाई मैले यो पुस्तकमा समेटेको छु।

वास्तवमा भन्ने हो भने हाम्रो बजारमा प्राविधिक विश्लेषणलाई अत्यन्तै सतही रूपमा बुझ्ने गरिन्छ। यहाँ विश्लेषण वस्तुपरकभन्दा पनि व्यक्तिपरक बढी भएको देखिन्छ।

धेरैले यसलाई केवल धर्केको रुपमा मात्रै संज्ञा दिएको पाइन्छ । तर यो त्योभन्दा निकै फरक र गहिरो विषय हो। यस पुस्तकमा मैले ३४ वटा अध्याय र ८ वटा खण्डमा प्राविधिक विश्लेषणका सिद्धान्त, चार्ट प्याटर्न, क्यान्डलस्टिक, बिहेभियरल फाइनान्स, मार्केट सेन्टिमेन्ट र बजार चक्र जस्ता विषयहरूलाई ७०० पेजमा समेटेको छु। यो एउटा कम्प्लिट प्याकेज हो, जसले विद्यार्थी, ट्रेडर र लगानी प्रबन्धक सबैलाई वैज्ञानिक ढङ्गले बजार बुझ्न सहयोग गर्छ भन्ने मेरो विश्वास छ।

बजारमा ठूलो द्वन्द्व देखिन्छ। कसैले प्राविधिक विश्लेषणलाई सही मान्छन् भने कसैले यसले काम गर्दैन भन्छन्। वास्तवमा प्राविधिक विश्लेषण के हो? यसले शेयर मूल्यको भविष्यवाणी गर्छ वा जोखिमको संकेत गर्छ ?

हाम्रोमा प्राविधिक र आधारभूत विश्लेषणलाई अलग गरेर हेर्ने गरेको पाइन्छ । यो गलत बुझाइ हो । छ। वास्तवमा, आधारभूत विश्लेषणले दिने तथ्याङ्कलाई ग्राफमा उतारिएको रूप नै प्राविधिक विश्लेषण हो। बजार माग र आपूर्तिका आधारमा चल्छ। त्यो माग वास्तविक होस् वा कृत्रिम, मूल्यमा त्यसको प्रतिबिम्ब देखिन्छ।

प्राविधिक विश्लेषण मूल्यको भविष्यवाणी गर्ने जादुकाे छडी होइन। व्यावसायिक विश्लेषकले कहिल्यै पनि यति गते यति मूल्य पुग्छ भनेर दाबी गर्दैन। यसको मुख्य काम भनेको बजारको टर्निङ पोइन्ट र ट्रेन्ड पहिचान गर्नु हो। नदीको बहावसँगै पौडी खेलेजस्तै, बजार जुन दिशामा छ, त्यही दिशा पहिचान गरेर आफ्नो रणनीति बनाउनु नै प्राविधिक विश्लेषणको असली उद्देश्य हो।

नेपालको बजारमा लामो समयदेखि बलियो फन्डामेन्टल भएका कम्पनीहरू सुस्त देखिन्छन्। यस्तो अवस्थामा प्राविधिक विश्लेषणले ती कम्पनीलाई कसरी हेर्छ?

कम्पनीको मुभमेन्ट ट्रेन्डमा निर्भर गर्छ र ट्रेन्डलाई बजार चक्रले निर्धारण गर्छ। अहिले हाम्रो अर्थतन्त्र शिथिलताबाट भर्खरै उठ्ने प्रयासमा छ । बैंकमा तरलता भएपनि कर्जाको माग छैन। जसले लगानीकर्तामा आत्मविश्वासको कमी देखाउँछ।

बजारका चार चरण हुन्छन्। अकुमुलेसन (जम्मा गर्ने), मार्कअप (बढ्ने), डिस्ट्रिब्युसन (वितरण गर्ने) र मार्कडाउन (घट्ने)। अहिले नेप्से साइडवेज छ। जसको अर्थ अर्थतन्त्र पनि साइडवेज नै छ। जबसम्म अर्थतन्त्रमा स्पष्ट वृद्धिदर देखिँदैन,तबसम्म कम्पनीहरूको मूल्यमा ठूलो उत्साह देखिँदैन। बजार अर्थतन्त्रको ऐना हो, त्यसैले अर्थतन्त्र चलायमान नभई बजार मात्रै दौडिँदैन।

धेरै लगानीकर्ता ब्रेकआउट र ब्रेकडाउनमा झुक्किने र ट्र्यापमा पर्ने गरेको देखिन्छ। यसलाई कसरी सही तरिकाले पहिचान गर्ने?

साइडवेज बजारमा ब्रेकआउट र ब्रेकडाउनका धेरैजसो संकेत फल्स (झुटा) हुन सक्छन्। नेप्से विगत २४ महिनादेखि एउटा निश्चित रेन्जभित्रै घुमिरहेको छ। यस्तो बेला लगानीकर्तालाई थकित बनाएर बाहिर निकाल्ने खेल भइरहेको हुन्छ।

बजारमा हुने गरेको सही ब्रेकआउट पहिचान गर्न धैर्यता चाहिन्छ। यदि बजारले कुनै रेन्ज तोड्यो भने तुरुन्तै हामफाल्नु हुँदैन। त्यो ब्रेकआउटपछि बजारले रिटेस्ट गर्छ वा हायर लो बनाएर पुनः बढ्न खोज्छ भने मात्रै त्यो सुरक्षित प्रवेश विन्दु हो। हामीले हरेक मुभमा पैसा कमाउँछु भन्ने जिद्दी त्याग्नुपर्छ र बजारलाई पछ्याउन सिक्नुपर्छ।

प्राविधिक अध्ययन गर्न इन्डिकेटर (सूचक)हरू धेरै छन् । नेपालको बजारका लागि सबैभन्दा प्रभावकारी कुन इन्डिकेटर हुन सक्छन?

प्राविधिक विश्लेषण गर्दा सूचकहरूलाई कहिल्यै पनि एक्लै हेर्नु हुँदैन। यसलाई ट्रेन्डसँग जोड्नुपर्छ। ट्रेन्ड बुलिश छ भने जुनसुकै इन्डिकेटरको बाई सिग्नलले काम गर्छ। तर बजार साइडवेज छ भने इन्डिकेटरले धेरै फेकआउट दिन्छन्। जहाँ खरिदकर्ता र बिक्रीकर्ताबीच प्रतिस्पर्धा हुन्छ। त्यहाँ बजारको चरित्र एउटै हुन्छ। अन्तर्राष्ट्रिय बजारमा सर्ट सेलको सुविधा हुन्छ। हाम्रोमा लङ मार्केट मात्र छ। फरक यति मात्र हो।

मैले पुस्तक लेख्ने क्रममा नेपालका कम्पनीहरूको चार्ट अध्ययन गर्दा म आफैँ दङ्ग परेको थिएँ। विश्वव्यापी रूपमा स्थापित प्राविधिक विश्लेषणका सिद्धान्तहरू नेप्सेका चार्टहरूमा यति पर्फेक्ट र सैद्धान्तिक रूपमा लागू भएका छन् कि ती कुनै पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा कम छैनन्।

अब प्रश्न रह्यो कुन सूचक राम्रो?, हामीले के बुझ्नुपर्छ भने, कुनै पनि सूचक वा चार्ट प्याटर्नलाई निरपेक्ष रूपमा हेर्नु हुँदैन। यसलाई सधैँ बजारको ट्रेन्डसँग जोडेर हेर्नुपर्छ। बजारका तीनवटा अवस्था हुन्छन। बुलिश, बियरिस र साइडवेज। बुलिश ट्रेन्ड बजार बढ्दो क्रममा छ भने RSI, MACD, Stochastic, Cup and Handle  जस्ता जुनसुकै सूचकले दिने बुलिश संकेतहरु मिल्ने सम्भावना धेरै हुन्छ। ट्रेन्ड नै सकारात्मक भएकोले यी सूचकहरू प्रभावकारी हुन्छन्। यदि बजार घट्दो क्रममा छ भने यस्ता सूचकहरूले दिने बिक्रीका संकेत बढी सटिक हुन्छन्। अहिले हाम्रो बजार साइडवेज अवस्थामा छ। यस्तो बेला अधिकांश इन्डिकेटरहरूले फेकआउट दिन्छन्। साइडवेज बजारमा कुनै पनि सूचकको क्रसओभर पछ्याउनु जोखिमपूर्ण हुन्छ। यस्तो बेला केवल सपोर्ट र रेसिस्टन्सले मात्र राम्रो काम गर्छ।

साइडवेज बजारमा रिभर्सनको रणनीति अपनाउनुपर्छ। जस्तै, बजार सपोर्ट एरियामा छ र ओसिलेटरहरू ओभरसोल्ड जोनमा छन् भने मात्र खरिदको सम्भावना खोज्न सकिन्छ। त्यसै गरी रेसिस्टन्समा पुग्दा ओभरबट देखिएमा बिक्रीकाे लागि सोच्नुपर्छ। प्राविधिक विश्लेषण गर्दा सूचकहरूलाई कहिल्यै पनि एक्लै हेर्नु हुँदैन। यसलाई ट्रेन्डसँग जोड्नुपर्छ। ट्रेन्ड बुलिश छ भने जुनसुकै इन्डिकेटरको बाई सिग्नलले काम गर्छ। तर बजार साइडवेज छ भने इन्डिकेटरले धेरै फेकआउट दिन्छन्।

मेरो व्यक्तिगत अनुभवमा बोलिन्जर ब्याण्ड निकै प्रभावकारी छ। जसले भोलाटालिटी र ट्रेन्ड दुवै देखाउँछ। त्यस्तै, मोमेन्टमका लागि छन्। तर सर्त एउटै छ पहिले बजारको सिजन (ट्रेन्ड) चिन्नुस्। गर्मीमा ज्याकेट लगाएर हिँड्नु र जाडोमा टिसर्टमा हिँड्नु दुवै घातक भएजस्तै, ट्रेन्डविपरीतका इन्डिकेटर संकेतले लगानी डुबाउन सक्छन्।

नेपालमा प्राविधिक विश्लेषकहरूको ठूलो समूह छ, तर विश्लेषक पूर्वानुमान र बजारको वास्तविक चालबीच खासै मेल खादैन। विश्लेषकहरूले एउटा कुरा प्रक्षेपण गरेको हुन्छ तर बजारले अर्कै दिशा तय गर्छ। यस्तो किन हुन्छ?

यसको मुख्य कारण भनेको प्राविधिक विश्लेषणलाई हेर्ने हाम्रो दृष्टिकोण नै हो। विश्वभरका व्यावसायिक विश्लेषकहरूले पूर्वानुमानलाई कहिल्यै पनि आफ्नो प्राथमिकतामा राख्दैनन्। हाम्रोमा प्राविधिक विश्लेषणलाई भविष्य बताउने माध्यमका रूपमा मात्र बुझियो।

तपाईले भन्नुभएको प्रसङ्गमा इलिएट वेभको कुरा आउँछ। सिएमटीको पाठ्यक्रममा पनि यसलाई बजार चक्र बुझ्ने एउटा सिद्धान्तका रूपमा पढाइन्छ। तर, विडम्बना के छ भने, इलिएट वेभका लेखकले नै आफ्नो पुस्तकको पहिलो अध्यायको तेस्रो प्याराग्राफमा स्पष्ट लेख्नुभएको छ। यो सिद्धान्त निकै उत्कृष्ट छ, तर यो प्राथमिक रूपमा बजारको पूर्वानुमान गर्ने टुल भने होइन। जब लेखक स्वयंले यसलाई पूर्वानुमानको साधन होइन भन्नुहुन्छ भने, हामीले यसलाई बजारको भविष्य ठोकुवा गर्ने आधार बनाउनु नै पहिलो गल्ती हो।

इलिएट वेभमा कुन वेभ कहाँ छ भनेर छुट्याउनै कठिन हुन्छ भनिन्छ नि, यसको व्यावहारिक पाटो कस्तो छ?

हो, इलिएट वेभमा बजार मोटिभ र करेक्टिभ दुई चालमा चल्छ। १–२–३–४–५ को सिरिजमा कुन वेभ कति लामो हुन्छ, कहिलेकाही पहिलो, तेस्रो वा पाँचौ वेभमध्ये कुन विस्तारित हुने हो भन्ने कुरा रियल टाइममा थाहा पाउन असम्भव प्रायः छ। त्यसमाथि करेक्टिभ वेभहरू त झन् झन्झटिला छन्। त्यहाँ जिगज्याग, फ्ल्याट, ट्र्याङ्गल देखि लिएर डबल थ्रि र ट्रिपल थ्रि जस्ता दर्जनौ जटिल स्वरूपहरू हुन्छन्।

मैले आफ्नो करियर नै अन्तर्राष्ट्रिय बजारमा एउटा इलिएट वेभ कम्पनीबाट सुरु गरेको हुँ। त्यसैले यसको यथार्थ मलाई राम्रोसँग थाहा छ। इलिएट वेभ पहिले बनिसकेको चार्टमा हेर्दा पर्फेक्ट देखिन्छ, किनकि त्यहाँ संरचना तयार भइसकेको हुन्छ र लेभलिङ गर्न सजिलो हुन्छ। तर, हामीलाई चाहिएको त रियल टाइमको निर्णय हो। बजार चलिरहेको बेला हामी कुन वेभमा छौ र अब के हुन्छ भनेर ठ्याक्कै भन्नु निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन्छ।

अर्को मुख्य कुरा यो सिद्धान्त पूर्णतः व्यक्तिपरक छ। यदि तपाईले तीन जना इलिएट वेभ विश्लेषकलाई एउटै चार्ट दिनुभयो भने, उहाँहरूले आ–आफ्नो मनोविज्ञान र बुझाइका आधारमा तीन थरी लेभलिङ गरिदिनुहुन्छ। त्यसैले, यो सिद्धान्तलाई बजारको एक मात्र र अन्तिम सत्य मानेर पूर्वानुमान गर्नु नै विश्लेषकहरूको कुरा बजारसँग मेल नखानुको मुख्य कारण हो। प्राविधिक विश्लेषण बजारलाई पछ्याउने माध्यम हो, बजारलाई आफ्नो इच्छा अनुसार चलाउने वा भविष्यवाणी गर्ने जादु होइन।

नेपालको बजारमा धेरै लगानीकर्ताले कन्फर्मेसनका लागि फिबोनाची रिट्रेसमेन्टको प्रयोग गर्ने गरेको देखिन्छ। के यसले अन्य सूचकहरूले भन्दा बढी सटिक संकेत दिने हो? यसलाई कसरी प्रयोग गर्दा सही हुन्छ?

फिबोनाची यस्तो फ्यान्टास्टिक टुल हो। जसलाई कतिपयले विश्वको आठौ आश्चर्यका रूपमा समेत लिने गर्छन्। यसको सफलताको दर निकै उच्च मानिन्छ। तर मुख्य कुरा यसलाई कहाँ प्रयोग गर्ने भन्ने हो।

हाम्रोमा धेरैले गर्ने गल्ती के हो भने, दुई दिनको क्यान्डल वा छोटो समयको स्विङमा फिबोनाची लगाइदिन्छन्। यसो गर्दा फेकआउट हुने सम्भावना धेरै हुन्छ। किनभने छोटो समयको मुभमा ०.३८२ वा ०.६१८ जस्ता गोल्डेन रेसियोहरू यति नजिक हुन्छन् कि एउटै क्यान्डलले ती सबैलाई छोइदिन सक्छ। यस्तोमा बजारले कहाँ निर रियाक्सन लियो भन्ने थाहा पाउन गाह्रो हुन्छ। यो भनेको एउटा सानो काँटी ठोक्नका लागि ठूलो घन प्रयोग गरे जस्तै हो, जहाँ टुलको दुरुपयोग हुन्छ।

फिबोनाचीको वास्तविक जादु मेजर स्विङहरूमा देखिन्छ। जस्तैः ५२ हप्ताको उच्च वा न्यून विन्दु र लाइफटाइम हाई वा लो भएका विन्दुहरूमा यसलाई प्रयोग गर्दा नेप्से र धेरै कम्पनीहरूले निकै पर्फेक्ट रियाक्सन दिएको भेटिन्छ। तर, अहिलेको जस्तो साइडवेज बजारमा, जहाँ मूल्य एउटा निश्चित रेन्जभित्रै अड्किएको छ, त्यहाँ फिबोनाची भन्दा सपोर्ट र रेसिस्टन्सको अवधारणा नै बढी प्रभावकारी हुन्छ। त्यसैले, ठूला साइकलहरू र मेजर मुभहरू पहिचान गर्नका लागि मात्र फिबोनाचीलाई एउटा प्रिमियम टुलका रूपमा प्रयोग गर्नु बुद्धिमानी हुन्छ।

प्राविधिक विश्लेषणमा भोल्युमलाई निकै महत्व दिइन्छ। धेरै लगानीकर्ताले यसैलाई आफ्नो मुख्य सूचक मान्छन्। तर कहिलेकाही मूल्य बढ्दा भोल्युम बढ्दैन, त कहिले मूल्य घट्दा भोल्युम ह्वात्तै बढ्छ। मूल्य र भोल्युमको यो विरोधाभासलाई लगानीकर्ताले कसरी बुझ्ने?

मूल्य र भोल्युम एउटै सिक्काका दुई पाटा हुन्। मूल्यले बजार कुन दिशामा जाँदैछ भन्ने दिशा तय गर्छ भने, भोल्युमले त्यो दिशामा लगानीकर्ताको सहभागिता र विश्वास कति छ भन्ने कुरा बुझाउँछ।सैद्धान्तिक रूपमा भन्दा, यदि बजार बुलिश ट्रेन्डमा छ भने मूल्य बढ्दा भोल्युम पनि बढ्नुपर्छ र मूल्य घट्दा भोल्युम घट्नुपर्छ। यसको ठीक विपरीत, बियरिस ट्रेन्डमा मूल्य घट्दा भोल्युम बढ्छ र बढ्दा घट्छ। तर, व्यवहारमा यसलाई अलि गहिराइबाट बुझ्न जरुरी छ।

विशेष गरी बजारको बटम लाग्ने बेला भोल्युम किन कम हुन्छ भन्ने धेरैको जिज्ञासा हुन्छ। यसको कारण मनोवैज्ञानिक छ। बजार एकदमै तल पुग्दा साना लगानीकर्ताहरू डराएका हुन्छन् र उनीहरूसँग बेच्नका लागि धेरै कित्ता बाँकी हुँदैन। अर्कोतिर, स्मार्ट मनी वा ठूला लगानीकर्ताले सस्तो मूल्यमा बिस्तारै कित्ताहरू उठाइरहेका हुन्छन्। उनीहरूले एकै पटक ठूलो भोल्युममा किन्दैनन्, किनकि त्यसो गर्दा मूल्य अचानक बढ्छ र अरूले पनि थाहा पाउँछन्। त्यसैले, बटम एरियामा भोल्युम कम देखिनु स्वभाविक हो।

जब मूल्य बिस्तारै बढ्न थाल्छ र बजारले लय समात्छ, तब मात्र सर्वसाधारण लगानीकर्ताहरू सक्रिय हुन थाल्छन्। मूल्य बढ्दै जाँदा ठूला लगानीकर्ताले सप्लाई दिन थाल्छन् र रिटेलरहरूले किन्न थाल्छन्, जसले गर्दा भोल्युम बढ्दै जान्छ। भोल्युमलाई मात्र हेरेर निर्णय लिनु भन्दा यसले मूल्यको मुभमेन्टलाई सपोर्ट गरेको छ कि छैन भनेर हेर्नु पर्छ। यदि मूल्य बढिरहेको छ तर भोल्युम एकदमै न्यून छ भने, त्यो बढाइ दिगो नहुन सक्छ र त्यहाँ ट्र्याप हुने सम्भावना रहन्छ। त्यसैले भोल्युमले बजारको उत्साह वा डरलाई मापन गर्छ भन्ने बुझ्नुपर्छ।

तपाईले पुस्तकमा बिहेभियरल फाइनान्सको चर्चा गर्नुभएको छ। लगानीकर्ताको मनोविज्ञानले बजारमा कस्तो असर पार्छ?

शेयर बजारमा प्रविधिको भन्दा मनोविज्ञानको खेल ठूलो हुन्छ। लगानीकर्ताहरू विभिन्न बायस (पूर्वाग्रह) बाट ग्रसित हुन्छन्। जस्तै, लस एभर्सन मान्छे थोरै नाफा हुँदा हतारिएर बेच्छ तर घाटा हुँदा एक न एक दिन त फर्केला भन्दै वर्षौँसम्म कुरेर बस्छ।

त्यस्तै अर्को हो एन्करिङ बायस कुनै कम्पनी आफूले किनेकै मूल्यमा नआएसम्म नबेच्ने जिद्दी। यस्ता मनोवैज्ञानिक कमजोरीले गर्दा लगानीकर्ताले सही समयमा निर्णय लिन सक्दैनन्। सफल हुनका लागि आफ्नो इमोसनलाई नियन्त्रण गरी बजारको वास्तविकतालाई स्वीकार गर्नुपर्छ।

सफल लगानीकर्ता हुनका लागि प्राविधिक विश्लेषण, जोखिम व्यवस्थापन वा लगानीकर्ताको मनोविज्ञान मध्ये कुन पक्षलाई बढी प्राथमिकता दिनुपर्छ?

सफल ट्रेडर वा लगानीकर्ता बन्नका लागि यी तीनवटै कुरालाई अलग–अलग गरेर हेर्नु हुँदैन। यी त एउटै प्याकेज हुन्। बजार बुझ्नका लागि विश्लेषण, जोखिम व्यवस्थापन र मनोविज्ञान एउटै सिक्काका विभिन्न पाटा हुन् र यिनीहरूको सन्तुलन अनिवार्य छ।

यहाँ मुख्य समस्या अध्ययनको छ। हामी एउटा सामान्य चिया पसल खोल्न पर्यो भने पनि कति धेरै तयारी गर्छौ। ठाउँ कहाँ छ। चियाको स्वाद कस्तो दिने, लगानी उठ्छ कि उठ्दैन भनेर महिनौ रिसर्च गर्छौ। केही लाखको लगानी हुने चिया पसलका लागि त हामी बिहानदेखि साँझसम्म ड्युटी गर्न तयार हुन्छौँ भने, शेयर बजारमा त मान्छेले आफ्नो जीवनभरको कमाइ र सपना लगानी गरेका हुन्छन्। विडम्बना के छ भने, यति ठूलो पुँजी दाउमा लगाउँदा पनि हामी बजारको अपरेसन कसरी हुन्छ भनेर सिक्न अल्छी गर्छौ।

फन्डामेन्टल एनालाइसिस भनेको केवल इपिएस वा पिई हेर्नु मात्र होइन, यसले म्याक्रो इकोनोमी, सरकारी नीति र बजार चक्रजस्ता बृहत् कुराहरू माग्छ। तर, धेरैजसो लगानीकर्ताको प्रवेश नै गलत मानसिकताबाट भइरहेको हुन्छ। अधिकांशको सुरुवात गेट–रिच–क्विक (छिटै धनी बन्ने) मानसिकताबाट हुन्छ। समाजमा फलाना दाइ, छिमेकीको काका वा साथीले कमाएको देखेर लोभका कारण मान्छे बजारमा छिर्छन्। तर, हामीले प्रकृतिको आधारभूत नियम बिर्सन्छौँ।

यदि तपाईलाई एक घोगा मकै खानु छ भने, पहिले एउटा दाना त रोप्नै पर्छ। रोपेर मात्र पुग्दैन, त्यसलाई मलजल गर्नुपर्छ, वस्तुभाउबाट जोगाउनुपर्छ र फल्नका लागि निश्चित समय कुर्नै पर्छ। कहिलेकाही मौसम बिग्रिएर मिहिनेत खेर जान पनि सक्छ। प्रकृतिको यो नियम शेयर बजारमा पनि लागू हुन्छ। यहाँ प्रतिफल पाउनका लागि पहिले अध्ययन र धैर्यताको मूल्य चुकाउनुपर्छ।

हाम्रो बजारमा अर्को एउटा समस्या के छ भने, लगानीकर्ताहरू आफै पोलिसी मेकर, पत्रकार वा जज बन्न खोज्छन्। म यो कम्पनीको मूल्य यहाँ पुर्याउँछु वा बजार यस्तो हुनुपर्छ भन्ने अहम् र जिद्दीपनले यहाँ टिकिँदैन। बजारलाई नियन्त्रण गर्ने होइन, बजारको चाल बुझेर आफूलाई त्यसमा अभ्यस्त गराउनेले मात्र यहाँ सफलता पाउँछ। त्यसैले, सफल हुनका लागि अनुमान र घमण्ड त्यागेर अध्ययन र अनुशासनलाई अङ्गाल्नु नै एकमात्र विकल्प हो।

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।