यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ६.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५८ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकममा पनि केही कमी आएको छ। गत साता दैनिक औषतमा ४ अर्ब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १.०५ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५.६९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७.४२ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब १५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६० अर्ब रुपैयाँ घटेर ४५ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ। गत साता ३७१५.९६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १४.०० अंक बढेर ३७२९.९६ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता व्यापार उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ। गत साता १० हजार ६५९.५५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २६५.४३ अंक घटेर १० हजार ३९४.१२ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको हो।

यस साता ४ म्युचुअल फण्ड र एक कम्पनीको बोनस शेयर गरी कुल ५२ करोड ९५ लाख १४ हजार ३८१.६० कित्ता धितोपत्र नेप्सेमा सूचीकृत भएको छ। यस साता नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने सिद्धार्थ इक्विटी फण्ड २, सानिमा इक्विटी फण्ड २, एलएस होराइजन १२ र रिलायबल समृद्धि योजना २ को इकाई नेप्सेमा सूचीकृत भएको हो।

यस साता एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक २७.१७ प्रतिशत बढेको छ। गत साता १ हजार ३०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ६६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सोलु हाइड्रोपावरको शेयरमूल्य साढे १७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य यस साता सर्वाधिक १२.६४ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता तारागाउँ रिजेन्सी होटल, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, मल्टीपर्पस फाइनान्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, मोदी इनर्जी, माया खोला हाइड्रोपावर कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

