यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ३.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकममा पनि केही कमी आएको छ। गत साता दैनिक औषतमा ५ अर्ब ६६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ३३ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २३.४८ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.८१ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८४ अर्ब रुपैयाँ घटेर ४६ खर्ब १५ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको छ। गत साता १४८९.१२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २.१७ अंक बढेर १४९१.२९ विन्दुमा पुगेको छ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५३ प्रतिशत घटेको छ। गत साता ११ हजार ४९.१८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ३८९.६३ अंक घटेर १० हजार ६५९.५५ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको हो।

यस साता एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक १०१.०९ प्रतिशत बढेको छ। गत साता ६४१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १हजार ३०९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक २७.७० प्रतिशत घटेको छ। त्यसैगरी, यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १५ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नाडेप लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, लक्ष्मी उन्नती कोष लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, मकर जीतुमाया सुरी हाइड्रोपावर, महिला लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

