स्वादमा ममता, व्यवसायमा आधुनिकता : ‘घरको अचार’को लोभ लाग्दो यात्रा

Aug 10, 2026 06:16 PM Merolagani



नेपाली भान्साको त्यो परिचित सुगन्ध, जहाँ तातो भात र दालको बाफसँगै कचौरामा पस्किएको अचारले भोकलाई तृप्तिमा बदलिदिन्छ। धेरैका लागि अचार केवल एउटा परिकार होला, तर रोहन श्रेष्ठ र उनकी आमा कमला श्रेष्ठका लागि यही अचार एउटा यस्तो ‘ब्रान्ड’ बनेको छ, जसले ममताको स्वादलाई आधुनिक व्यवसायको उचाइसम्म पुर्‍याएको छ।

घरको भान्सामा पुस्तौँदेखि पाकिरहेको मौलिक स्वादलाई सिसाको जारमा भरेर व्यावसायिक रूप दिँदै उनीहरूले सुरु गरेको ‘घरको अचार’ अहिले नेपाली स्टार्टअपको एउटा प्रेरणादायी कथा बनेको छ। यो यात्रा केवल नाफा र नोक्सानको हिसाबमा सीमित छैन। यसमा एउटा छोराको आधुनिक सोच, आमाको सीप, परिवारको साथ र केही फरक गर्ने अठोट मिसिएको छ।

यो कथा सन् २०१८ बाट सुरु हुन्छ। व्यवस्थापन विषयका विद्यार्थी रोहन श्रेष्ठले कलेजको एउटा प्रोजेक्टका लागि यस्तो बिजनेस प्लान बनाउनुपर्ने थियो, जुन स्वदेशी कच्चा पदार्थमा आधारित होस् र ई–कमर्समार्फत डिजिटल बजार हुँदै विश्वबजारसम्म पुग्न सकोस्।

 

बजारमा धेरै विकल्प थिए, तर रोहनको सोच अचारमा पुगेर अडियो। “सुरुमा त यो एउटा शोखजस्तो मात्रै थियो,” रोहन सम्झिन्छन्, “तर नेपालमा बनेको सामानलाई अनलाइनमार्फत विश्वभर पुर्‍याउने मेरो सपनाको जग यही अचार बन्यो।”

सानो प्रोटोटाइपबाट सुरु भएको त्यो प्रयास विस्तारै व्यवसायमा बदलिँदै गयो। सुरुमा एउटा कलेज प्रोजेक्टका रूपमा जन्मिएको सोच आज रोहनको मात्र होइन, उनको परिवारकै परिचय बनेको छ।

रोहनले अचार बेच्ने सोच घरमा सुनाउँदा आमा कमला श्रेष्ठ भने सुरुमा केही अकमकाइन्। “यत्रो पढेको छोराले अचार बेच्छु भन्दा अचम्म लागेको थियो,” उनी विगत सम्झिन्छिन्, “पहिले हामी इलेक्ट्रोनिक्सको व्यवसाय गर्थ्यौँ। अचारको काम कस्तो होला, मान्छेले के भन्लान् भन्ने डर पनि थियो।”

तर छोराको आत्मविश्वास र योजनाका अगाडि आमाको संकोच धेरै समय टिकेन। कमलासँग फुड ट्रेनिङबाट सिकेको सीप थियो भने रोहनसँग नयाँ बजार बुझ्ने सोच। यी दुईको सीप र सोच एक ठाउँमा आएपछि ‘घरको अचार’ले आकार लिन थाल्यो।

सुरुका दिनमा घरकै भान्सामा परिवारका सदस्यहरू मिलेर अचार बनाउँथे। काम सानो थियो, चुनौती ठूला थिए। उत्पादनदेखि प्याकेजिङसम्मका धेरै काम आफैँ सम्हाल्नुपर्थ्यो। तर उनीहरूले एउटा कुरामा भने सुरुदेखि नै सम्झौता गरेनन्—स्वाद र गुणस्तरमा।

‘घरको अचार’ विस्तारै बामे सर्दै गर्दा रोहनको स्नातक तहको पढाइ पनि सकियो। तर त्यही समयमा विश्वभर कोरोना महामारी फैलियो। लकडाउनका कारण धेरै व्यवसाय प्रभावित भए। बजार बन्द भए, मानिसहरू घरभित्र सीमित भए। तर यही कठिन समय ‘घरको अचार’का लागि भने नयाँ अवसरको ढोका बन्यो।

मानिसहरू घरमै बस्न थालेपछि अनलाइनबाट सामान मगाउने बानी बढ्यो। डिजिटल भुक्तानी र अनलाइन व्यापार विस्तार हुँदै गयो। यही परिवर्तनले रोहनको व्यवसायलाई पनि ग्राहकसम्म पुग्ने नयाँ बाटो दियो।

“कोभिडपछिको मार्केट सिचुएसनले हामीलाई अगाडि बढ्न धेरै सजिलो बनायो,” रोहन भन्छन्।

सामाजिक सञ्जाल, अनलाइन अर्डर र डिजिटल माध्यमको प्रयोगसँगै घरको भान्सामा तयार भएको अचार राजधानीका विभिन्न घरसम्म पुग्न थाल्यो। विस्तारै ग्राहक बढे, माग बढ्यो र सानो प्रयासले व्यावसायिक आकार लिन थाल्यो।

आज बजारमा अचारका थुप्रै ब्रान्ड छन्। सामाजिक सञ्जाल खोल्नेबित्तिकै विभिन्न स्वाद र प्रकारका अचारका विज्ञापन देखिन्छन्। यस्तो प्रतिस्पर्धाबीच पनि ‘घरको अचार’ले आफ्नो छुट्टै पहिचान बनाएको छ।

यसको एउटा प्रमुख कारण हो—ग्राहकलाई केवल ग्राहकका रूपमा नहेर्नु।

कमला श्रेष्ठका अनुसार उनीहरू ठूलो मात्रामा उत्पादन गरेर बजारमा पठाउनेभन्दा पनि स–साना ब्याचमा अचार तयार गर्न रुचाउँछन्, ताकि स्वाद र ताजापन कायम रहोस्।

“हामी ग्राहकको आवश्यकता बुझ्छौँ। कसैलाई पिरो कम चाहियो वा कसैलाई टिमुर बढी चाहियो भने हामी उहाँहरूकै लागि विशेष बनाइदिन्छौँ,” कमला भन्छिन्।

यही आत्मीयता ‘घरको अचार’को पहिचान बनेको छ। ग्राहकले एउटा उत्पादन मात्र होइन, आफ्नोपनको अनुभूति पाउने उनीहरूको प्रयास छ।

अचारको स्वादसँग नेपालीको भावनात्मक सम्बन्ध पनि गहिरो छ। विशेषगरी विदेशमा बस्ने नेपालीका लागि घरको अचार केवल खानासँग खाने परिकार होइन, घर र जन्मभूमिको सम्झना पनि हो।

अस्ट्रेलिया, अमेरिका वा युरोप पुगेका नेपालीले ‘घरको अचार’को एउटा जार खोल्दा त्यसमा केवल पिरो, अमिलो वा मसला मात्र भेट्दैनन्। त्यसमा घरको भान्साको सम्झना, आमाको हातको स्वाद र आफ्नै माटोको अपनत्व मिसिएको अनुभूति गर्छन्।

त्यसैले विदेश जाने नेपालीका लागि यो अचार विस्तारै एउटा कोसेलीजस्तै बन्न थालेको छ। टाढाको देशमा पुगेपछि आफ्नै घरको स्वाद सम्झाउने एउटा सानो जारले पनि ठूलो भाव बोकेको हुन्छ।

आज ‘घरको अचार’मा ८ देखि १० जनासम्मको कर्मचारी टिम छ। विभिन्न स्वादका १०–१२ थरीका भेज र नन–भेज अचार उत्पादन भइरहेका छन्। तर यो अवस्थासम्म आइपुग्न रोहनले थुप्रै चुनौती पार गरेका छन्।

व्यवसाय विस्तारसँगै उत्पादन व्यवस्थापन, कर्मचारी व्यवस्थापन, बजार विस्तार र गुणस्तर कायम राख्ने चुनौती पनि थपिँदै गए। सानो व्यवसायलाई ठूलो बनाउने क्रममा हरेक दिन नयाँ कुरा सिक्नुपरेको उनको अनुभव छ। यही यात्राबाट सिकेको कुरा उनी नयाँ पुस्ताका उद्यमीलाई पनि सुनाउन चाहन्छन्।

“धेरै अनुसन्धान मात्र गरेर नबस्नुस्। कोही मान्छे पौडी कसरी खेल्ने भनेर किताब मात्र पढिरहन्छन्, तर पोखरीमा जाँदैनन्। कोही चाहिँ केही नबुझी हाम फाल्छन्। यी दुवै अति हुन्। अनुसन्धान र कार्यान्वयनको सन्तुलन मिलाउनुस् र काम सुरु गर्नुस्,” उनी भन्छन्।

उनका लागि व्यवसायमा योजना आवश्यक छ, तर योजना मात्र पर्याप्त छैन। काम सुरु गर्ने आँट, गल्तीबाट सिक्ने क्षमता र निरन्तर अघि बढ्ने धैर्य पनि उत्तिकै महत्वपूर्ण छन्।

सुरुका दिनमा ‘अचार बेच्ने’ भनेर अचम्म मान्नेहरू पनि अहिले यही व्यवसायको सफलतामा खुसी छन्। कमलाका लागि यो परिवर्तन अझ भावुक बनाउने खालको छ।

“अहिले त सबैले भन्छन्—छोरा विदेश गएन, आमासँगै बसेर यस्तो राम्रो काम गर्‍यो,” उनी मुस्कुराउँदै भन्छिन्।

उनको त्यो मुस्कानमा एउटा आमाको खुसी मात्र छैन, आफ्नै सीप र छोराको सपनालाई विश्वास गरेर अघि बढेको सफल उद्यमीको गर्व पनि छ।

भान्साबाट सुरु भएको ‘घरको अचार’को यात्रा त्यसैले एउटा व्यवसायको कथा मात्र होइन। यो परम्परागत स्वाद र आधुनिक सोचको भेटको कथा हो। आमाको हातमा रहेको पुस्तौँ पुरानो सीपलाई छोराको नयाँ पुस्ताको सोचले बजारसम्म पुर्‍याएको कथा हो।

यसले एउटा सामान्य तर महत्वपूर्ण कुरा पनि सम्झाउँछ, व्यवसाय सुरु गर्न सधैँ ठूलो उद्योग वा ठूलो पूँजी नै चाहिँदैन। कहिलेकाहीँ आफ्नै घरको भान्सामा रहेको एउटा सीप, त्यसलाई फरक ढंगले प्रस्तुत गर्ने सोच र निरन्तर अघि बढ्ने साहस नै पर्याप्त सुरुवात बन्न सक्छ।

‘घरको अचार’को जारमा आज अचार मात्र भरिएको छैन। त्यसमा एउटा आमाको ममता, एउटा छोराको सपना, परिवारको साथ र वर्षौँको मेहनत पनि मिसिएको छ। सायद त्यसैले यसको स्वाद जिब्रोमा मात्र होइन, सम्झनामा पनि बस्छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।