वित्तीय खर्च घट्दा सानिगाड हाइड्रोको नाफा उच्च बढ्यो

Aug 11, 2026 09:04 AM Merolagani



सानिगाड हाइड्रो लिमिटेड (SGHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९०.१६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेपछि वित्तीय खर्च घटेका कारण कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३.७० प्रतिशत बढेर १ अर्ब ११ करोड ५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.२२ प्रतिशत बढेको छ। कम्पनीको अन्य सञ्चालन खर्च समीक्षा अवधिमा ५.२४ प्रतिशत घटेको छ भने वित्तीय खर्च २९.६२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ६१ पैसा बढेर ९ रुपैयाँ ३३ पैसा पुगेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.५२ गुणा रहेको छ।

२ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३३ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।