ब्याजदर घट्यो, बैंकमा पैसा थुप्रियो, मार्जिन कारोबार सुरु भयो अनि कम्पनीका रिपोर्ट अचम्मै सुध्रिए—तर शेयर बजार ?

Aug 12, 2026 05:45 AM Merolagani



सुवास निरौला 

शेयर बजारमा अहिले एउटा अनौठो मोडमा छ। बजार बढ्नका लागि चाहिने आधारहरू क्रमशः बलियो बन्दै गएका छन्, तर ती आधारले लगानीकर्तालाई शेयर किन्न प्रेरित गर्न सकेका छैनन्।

ब्याजदर घटेको छ, बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, बैंक तथा वित्तीय संस्थाका वित्तीय विवरणमा सुधारका संकेत देखिएका छन्। जलविद्युत् कम्पनीलाई घट्दो ब्याजदरले राहत दिने अपेक्षा छ। होटेल तथा पर्यटन क्षेत्रमा आगामी सिजनप्रति सकारात्मक संकेत छन्। त्यसमाथि शेयर बजारमा माग बढाउने अपेक्षा गरिएको मार्जिन कारोबार पनि विस्तार हुँदै छ। तर बजारको चाल-  यसको ठिक विपरीत छ।

 

पछिल्लो साप्ताहिक बजार समीक्षाअनुसार एक सातामै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३५.४५ अंक अर्थात् १.३२ प्रतिशत घटेको थियो। उक्त अवधिमा १३ मध्ये ११ वटा क्षेत्रगत सूचक राताम्मे रहे।यसले अहिलेको शेयर बजारमा मूल समस्या कम्पनीहरूको आधारभूत अवस्थाभन्दा लगानीकर्ताको मनोविज्ञान र बजारप्रतिको विश्वासमा कमी रहेको संकेत गर्छ। “रिपोर्ट राम्रै आएका छन्। अचम्म राम्रा रिपोर्ट आउँदा पनि बजार बढ्दैन,” स्टक ब्रोकर एसोसिएसन अफ नेपालमा उपाध्यक्ष भक्तिराम घिमिरेले भने, “बजार चलाउने मान्छेको कन्फिडेन्स नै के भएको हो बुझ्न सकिएको छैन।” यही अहिलेको नेपाली शेयर बजारको सबैभन्दा ठुलो विडम्बना हो बजारसँग बढ्ने आधार छन्, तर लगानीकर्तासँग किन्ने आत्मविश्वास छैन।

ब्याजदर घटेको छ, तर शेयर बजारले त्यसको लाभ पाएन

शेयर बजारमा ब्याजदरलाई सबैभन्दा महत्त्पूर्ण चालकका रूपमा हेरिन्छ। बैंकको निक्षेपमा पाइने प्रतिफल घटेपछि बचत तथा मुद्दती निक्षेपमा पैसा राख्नुभन्दा जोखिम लिएर शेयर बजारमा लगानी गर्ने आकर्षण बढ्नुपर्ने हो। त्यस्तै कर्जाको ब्याजदर घट्दा व्यवसाय विस्तार र कम्पनीको नाफामा पनि सकारात्मक प्रभाव पर्न सक्छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो उपलब्ध तथ्यांकअनुसार ‘क’ वर्गका वाणिज्य बैंकको औसत निक्षेप दर ३.२९ प्रतिशतमा झरेको छ भने औसत कर्जाको ब्याजदर ६.६४ प्रतिशत छ। अन्तरबैंक ब्याजदरसमेत २.७३ प्रतिशतको न्यून तहमा छ। तर ब्याजदर घट्नुको प्रत्यक्ष लाभ शेयर बजारमा देखिएको छैन। यही कारण अहिले बजारमा एउटा प्रश्न उठेको छ—ब्याजदर घट्दा पनि लगानीकर्ता शेयर बजारमा किन प्रवेश गरिरहेका छैनन् ?

जानकारहरूका अनुसार ब्याजदर मात्र घटेर पुग्दैन। लगानीकर्ताले आफ्नो लगानीको मूल्य फेरि घट्ने जोखिम कम भएको अनुभूति गर्नुपर्छ। पछिल्ला वर्षमा बजारमा आएको उतारचढाव र लगानीकर्ताले भोगेको मूल्य क्षतिले त्यो मनोवैज्ञानिक डर अझै कायम राखेको छ। त्यसैले अहिले धेरै लगानीकर्ता ‘किन्ने कि नकिन्ने’ भन्दा पहिले ‘अझै तल जाने हो कि?’ भन्ने प्रश्नको उत्तर खोजिरहेका छन्।

बैंकमा पैसा थुप्रियो, लगानीको ठाउँ खोज्नुपर्ने अवस्था

राष्ट्र बैंकको तथ्यांकले बैंकिङ प्रणालीमा तरलता सहज रहेको देखाउँछ। पछिल्लो उपलब्ध तथ्यांकमा बैंक तथा वित्तीय प्रणालीको कर्जा–निक्षेप अनुपात ७१.०८ प्रतिशत र अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत देखिएको छ।अर्थात् बैंकिङ प्रणालीमा तत्काल तरलताको चरम अभाव छैन। यही अवस्थालाई शेयर बजारका जानकारले बजारको सम्भावनासँग जोडेर हेरेका छन्। “बैंकिङ क्षेत्रमा एनपीएल अलिअलि बढे पनि बिजनेस ग्रोथको हिसाबले पैसा थुप्रिएको छ। लगानी गर्ने ठाउँ थुप्रै छ र रिटर्न बढ्न सक्छ,” घिमिरेले भने।

यसको अर्थ बैंकिङ प्रणालीमा रहेको रकम उत्पादनशील क्षेत्रमा परिचालन हुने अवस्था बनेमा त्यसले अर्थतन्त्रसँगै बैंकहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउन सक्छ। त्यसको प्रभाव अन्ततः बैंक तथा वित्तीय संस्थाको नाफामा पर्न सक्छ। तर शेयर बजारमा लगानीकर्ताले त्यो सम्भावित भविष्यको नाफालाई अहिले नै मूल्यमा समावेश गर्न तयार देखिएका छैनन्।

बैंकहरूको नाफा मात्रै होइन, ‘एनपीएल’ पनि हेरिरहेका छन् लगानीकर्ता

बैंकिङ क्षेत्रको वित्तीय विवरणमा सुधारका संकेत देखिए पनि लगानीकर्ताको चिन्ता पूर्ण रूपमा हटेको छैन। विशेष गरी निष्क्रिय कर्जा अर्थात् एनपीएलमा देखिएको दबाबले लगानीकर्तालाई सतर्क बनाएको छ। यही कारण बैंकहरूको नाफा बढ्यो भन्ने समाचार मात्र पर्याप्त हुन छाडेको छ। लगानीकर्ताले नाफा कसरी बढ्यो ? खराब कर्जा कति छ ? प्रोभिजनिङ कति छ ? कर्जा विस्तार कस्तो छ र आगामी त्रैमासमा नाफा टिक्छ कि टिक्दैन ? भन्ने प्रश्न पनि सँगसँगै हेर्न थालेका छन्। अर्थात् ‘रिपोर्ट राम्रो’ भन्ने सूचनाले मात्रै बजारको मनोविज्ञान परिवर्तन गर्न सकेको छैन।

हाइड्रोपावरमा ब्याजदर घट्नुको अर्थ फरक छ

जलविद्युत् कम्पनीका लागि भने घट्दो ब्याजदरको प्रभाव अझ प्रत्यक्ष हुन सक्छ। ठुलो ऋण लिएर परियोजना निर्माण गरेका हाइड्रोपावर कम्पनीको नाफामा ब्याज खर्चको ठुलो प्रभाव हुन्छ। उच्च ब्याजदरका कारण विगतमा वित्तीय दबाबमा रहेका कम्पनीलाई ब्याजदर घट्दा राहत मिल्न सक्छ। वित्तीय खर्च घटेपछि एउटै आम्दानीबाट कम्पनीको नाफा बढ्ने सम्भावना हुन्छ। यही कारण बजार जानकारहरू अब विगतमा कमजोर देखिएका कतिपय हाइड्रोपावर कम्पनीको वित्तीय विवरणमा पनि सुधार आउन सक्ने बताउँछन्। “हाइड्रोको ब्याजदर एकदमै घटेर तल आएकाले पहिला घाटामा भएका हाइड्रोले पनि राम्रो रिपोर्ट निकाल्न सक्छन्,”  घिमिरेले भने। तर यसको प्रभाव पनि तत्काल नेप्से सूचकमा देखिएको छैन। बरु पछिल्ला कारोबारमा जलविद्युत् कम्पनीहरूमा कारोबार केन्द्रित भएको देखिन्छ। यसले बजारमा पैसा पूर्ण रूपमा बाहिरिएको भन्दा पनि लगानीकर्ताले समग्र बजारभन्दा निश्चित कम्पनी र क्षेत्रमा अवसर खोजिरहेको संकेत गर्छ।

यसको एउटा उदाहरण सोलु हाइड्रोपावरको कारोबारलाई लिन सकिन्छ। घिमिरेका अनुसार उक्त कम्पनीमा एक दिन करिब ५० करोड रुपैयाँ र अर्को दिन करिब ४६ करोड रुपैयाँ हाराहारीको कारोबार भएको थियो। “आधा कारोबार त यसैको हुन थालेको छ,” उनले भने। तर कुनै एउटा कम्पनीमा कारोबार बढ्दैमा समग्र बजारको आत्मविश्वास फर्किएको निष्कर्ष निकाल्न सकिँदैन। यसले भने अर्को प्रश्न उठाउँछ—लगानीकर्ताले अहिले बजारमा व्यापक लगानी गरिरहेका छन् कि केही निश्चित कम्पनीमा मात्र जोखिम लिइरहेका छन् ? यदि दोस्रो अवस्था हो भने बजारको आधारभूत सुधार र बजारको मनोविज्ञानबिच अझै ठुलो दूरी रहेको बुझ्न सकिन्छ।

मार्जिन कारोबार आयो, तर बजारमा ‘लिक्विडिटी इम्पल्स’ आएन

शेयर बजारमा माग बढाउने अपेक्षा गरिएको अर्को महत्वपूर्ण विकास मार्जिन कारोबार हो। नेपालमा नयाँ मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भएसँगै योग्य ब्रोकरलाई लगानीकर्तालाई ऋण दिएर शेयर खरिद गर्न सुविधा दिने संरचना अघि बढाइएको छ। नयाँ व्यवस्थाले जोखिम नियन्त्रण र लगानीकर्ता संरक्षणसँगै बजारमा थप तरलता ल्याउने उद्देश्य राखेको छ। साउनमा ७ ब्रोकरले मार्जिन कारोबार नै सुरु गरिसके। थप ५४ ब्रोकर सुरु गर्ने अन्तिम तयारिमा छन्। यसको अर्थ बजारमा माग बढाउन सक्ने एउटा नयाँ औजार तयार हुँदै छ। तर प्रश्न फेरि उही छ—औजार आयो, लगानीकर्ता कहाँ छन् ? मार्जिन कारोबारले बजारमा पैसा थप्न सक्छ, तर लगानीकर्ताको विश्वास थप्न सक्दैन। लगानीकर्ता बजार अझै घट्न सक्छ भन्ने डरमा छन् भने ऋण लिएर शेयर किन्न तयार हुँदैनन्। त्यसैले मार्जिन कारोबारको प्रभाव कति भयो भन्ने प्रश्नभन्दा महत्वपूर्ण प्रश्न अहिले मार्जिन कारोबार प्रयोग गर्ने लगानीकर्ताको मनोविज्ञान कस्तो छ ? भन्ने हो।

होटेल क्षेत्र पनि आशावादी, बजारमा भने निराशा

शेयर बजारका जानकारले सकारात्मक देखेको अर्को क्षेत्र होटेल तथा पर्यटन हो। आगामी पर्यटन सिजनका लागि अहिले नै होटेल बुकिङ हुन थालेको संकेतले होटेल व्यवसायको आम्दानी बढ्ने अपेक्षा गर्न सकिन्छ। पर्यटक आगमनमा सुधार आयो भने होटेलको अकुपेन्सी, कोठा दर र समग्र आम्दानीमा त्यसको प्रभाव पर्न सक्छ। अर्थात् बैंकिङ, हाइड्रोपावर र होटेल—बजारका महत्वपूर्ण क्षेत्रहरूमा आगामी दिनका लागि केही सकारात्मक आधार देखिन्छन्। तर लगानीकर्ताले ती आधारलाई तत्काल शेयर मूल्यमा रूपान्तरण गर्न चाहिरहेका छैनन्।

‘फन्डामेन्टल’ बलियो, ‘सेन्टिमेन्ट’ कमजोर

यहीँ आएर अहिलेको बजारको वास्तविक समस्या देखिन्छ। फन्डामेन्टल सुधारको संकेत छ। तर सेन्टिमेन्ट कमजोर छ। कम्पनीको नाफा, ब्याजदर, तरलता, व्यवसाय विस्तार, हाइड्रोपावरको वित्तीय खर्च र होटेलको बुकिङजस्ता तथ्यले बजारलाई सकारात्मक संकेत दिइरहेका छन्। तर लगानीकर्ताको मनोविज्ञानले भने त्यसलाई स्वीकार गरिसकेको छैन। बजारमा अहिले लगानीकर्ताको व्यवहार पनि यही देखिन्छ। सकारात्मक समाचार आएपछि तत्काल खरिद बढ्नुको सट्टा लगानीकर्ता मूल्य थप घट्ने सम्भावना हेरेर पर्खिरहेका छन्। अर्कोतर्फ मूल्य केही बढ्दा नाफा सुरक्षित गर्न बिक्री गर्ने प्रवृत्ति बलियो छ। यसले बजारमा माथि जानेभन्दा पहिले विश्वासको पुनर्निर्माण आवश्यक रहेको देखाउँछ।

बजारको प्रश्न अब ‘के राम्रो छ ?’ होइन, ‘किन्ने विश्वास कहिले फर्किन्छ?’ हो

सामान्य अवस्थामा शेयर बजारमा लगानीकर्ताले भविष्यको नाफाको सम्भावनालाई वर्तमान मूल्यमा समेट्छ। तर डराएको बजारमा लगानीकर्ताले भविष्यको नाफाभन्दा वर्तमानको जोखिमलाई बढी महत्त्व दिन्छ। अहिले नेपाली शेयर बजारमा त्यही भइरहेको देखिन्छ। कम्पनीको रिपोर्ट राम्रो आए पनि लगानीकर्ता भन्छन्—‘अझै तल आउला कि?’ ब्याजदर घटे पनि प्रश्न हुन्छ—‘बजार कहिले फर्किन्छ ?’ मार्जिन कारोबार सुरु भए पनि प्रश्न हुन्छ—‘अहिले नै ऋण लिएर किन्ने समय हो ?’ बैंकमा पैसा थुप्रिए पनि प्रश्न हुन्छ—‘त्यो पैसा शेयर बजारमा कहिले आउँछ ?’ यही प्रश्नहरूले अहिलेको बजारको मनोविज्ञानलाई परिभाषित गरिरहेका छन्। त्यसैले अहिलेको शेयर बजारलाई केवल ‘घट्दो बजार’ भनेर बुझ्नु अपूरो हुन्छ। यो आधारभूत अवस्था र लगानीकर्ताको विश्वासबिचको दूरीको बजार हो।

बजारमा सकारात्मक आधार थपिँदै गएका छन्। ब्याजदरले साथ दिएको छ। तरलता सहज छ। कम्पनीका वित्तीय विवरणले सुधारको संकेत दिएका छन्। हाइड्रोपावरलाई ब्याजदरको राहत मिल्ने सम्भावना छ। होटेल क्षेत्रमा आगामी सिजनप्रति आशावाद छ। मार्जिन कारोबारले बजारमा नयाँ माग सिर्जना गर्न सक्ने सम्भावना छ।अब यी सबै आधारलाई बजारको मूल्यमा रूपान्तरण गर्न एउटा कुरा मात्र बाँकी देखिन्छ—लगानीकर्ताको विश्वास। त्यो विश्वास फर्किएपछि अहिलेको ‘किन्ने डर’ नै बजारको अर्को चरणको ‘किन्ने दौड’मा बदलिन सक्छ। तर त्यो कहिले हुन्छ भन्ने प्रश्नको उत्तर भने वित्तीय विवरणले मात्र दिने छैन। त्यसका लागि बजारले लगानीकर्तालाई एउटा स्पष्ट सन्देश दिनुपर्ने—अब जोखिमभन्दा अवसर ठुलो छ। अहिले नेप्सेले त्यही विश्वास निर्माण गर्न संघर्ष गरिरहेको छ।