डिजिटल रूपैयाँ कार्यान्वयनका लागि संशाेधन हुँदै नेपाल राष्ट्र बैंक ऐन, पाइलट परीक्षणको तयारी

Aug 11, 2026 01:29 PM Merolagani



नेपालमा केन्द्रीय बैंक डिजिटल मुद्राको रूपमा डिजिटल रूपैयाँलाई औपचारिक रूपमा कार्यान्वयनमा लैजानका लागि विद्यमान कानुनी संरचनामा व्यापक फेरबदल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

विशेष गरी नेपाल राष्ट्र बैंक ऐन, २००२ मा समयसापेक्ष र लक्षित संशोधन गर्नुपर्ने देखिएको छ, जसले डिजिटल रूपैयाँको वैधानिक मान्यता, नियमन र अधिकार क्षेत्रलाई स्पष्ट पार्नेछ।

कानूनी पाटोलाई मात्र बलियो बनाएर नपुग्ने भएकाले यसको प्राविधिक र व्यावहारिक पक्ष परीक्षणका लागि पाइलट प्रोजेक्ट तथा सिमुलेशनको तयारी पनि थालिएको छ। डिजिटल रूपैयाँ बजारमा पूर्ण रूपमा आउनुपूर्व कुनै पनि खालका प्रणालीगत त्रुटी वा जोखिमहरूबाट बच्नका लागि नियन्त्रित र सुरक्षित वातावरणमा यसको परीक्षण अभ्यास गरिनेछ। यस किसिमको पाइलट परीक्षणले भविष्यमा वास्तविक कारोबारका क्रममा आइपर्ने प्राविधिक तथा व्यावहारिक व्यवधानहरूलाई पहिचान गर्न र तिनको समयमै समाधान निकाल्न ठूलो मद्दत पुर्‍याउनेछ।

 

यसका साथै, डिजिटल मुद्राको प्रचलनसँगै डेटा सुरक्षा र प्रयोगकर्ताको गोपनीयताको विषय पनि निकै गम्भीर रूपमा उठ्ने गरेको छ। नागरिकहरूको व्यक्तिगत विवरण तथा वित्तीय कारोबारको सुरक्षालाई पूर्ण रूपमा प्रत्याभूत गर्न एउटा एकीकृत र बलियो कानुनी फ्रेमवर्क वा छुट्टै ऐनको आवश्यकता पर्ने कुरा अवधारणा पत्रले औंल्याएको छ। यसरी कानूनी सुधार, नियमनकारी दायराको विस्तार र सुरक्षित वातावरणमा सिमुलेशन अभ्यास सम्पन्न गरेपछि मात्र डिजिटल रूपैयाँलाई चरणबद्ध रूपमा सर्वसाधारणको प्रयोगमा ल्याइने योजना रहेको छ।