नाइमा मोबिलिटी एक्स्पोमा बैंकहरूको अफरै–अफरः ग्लोबल, एनएमबी र सिद्धार्थ बैंकबाट सस्तो ब्याजदरमा गाडी कर्जा

Aug 11, 2026 02:48 PM Merolagani



काठमाडौंमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै तीन ठूला वाणिज्य बैंकहरूले आकर्षक फाइनान्स सुविधा सार्वजनिक गरेका छन्।

ग्लोबल आइएमई बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकले एक्स्पोलाई लक्षित गरी विशेष ब्याजदर र सहुलियतपूर्ण अफरहरू ल्याएका हुन्।

मेलामा यी बैंकहरूले आफ्ना स्टलहरू राखेर ग्राहकलाई तत्काल कर्जा प्रक्रिया र परामर्श सेवा प्रदान गरिरहेका छन्। ग्लोबल आइएमई बैंकले ‘ग्लोबल अटो लोन’ अन्तर्गत अत्यन्तै न्यून ब्याजदरमा कर्जा सुविधा ल्याएको छ। बैंकका अनुसार एक्स्पो अवधिभर गाडी खरिद गर्ने ग्राहकले ५.२५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन्। यो सुविधाले सर्वसाधारणलाई सहजै सवारी साधनको मालिक बन्न मद्दत पुग्ने बैंकको विश्वास छ।

वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्राथमिकता दिँदै एनएमबी बैंकले विद्युतीय सवारी साधन (ईभी) खरिदकर्ताका लागि विशेष योजना ल्याएको छ। बैंकले नयाँ ईभी खरिदका लागि आधार दरमा थप ०.५ प्रतिशत ब्याजदरबाट सुरु हुने गरी कर्जा उपलब्ध गराउने जनाएको छ। कर्जा प्रक्रियालाई सरल र छिटो बनाइएको तथा यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जानकारी दिएको छ।

त्यस्तै, एक्स्पोमा सिद्धार्थ बैंकले पनि गाडी किन्न चाहनेका लागि सहुलियतपूर्ण योजना ल्याएको छ। बैंकले नयाँ गाडी खरिदका ब्याज प्रिमियममा १ प्रतिशत र प्राेसेसिङ शुल्क ०.५ प्रतिशत तोकिएको बैंकले जनाएको छ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बैंकहरूको यो प्रतिस्पर्धात्मक अफरले गर्दा नयाँ गाडी, विशेषगरी विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूका लागि यो सुनौलो अवसर बनेको छ। एक्स्पोमा सहभागी अटो कम्पनी र बैंकहरूको सहकार्यले सुस्ताएको अटो बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।