विद्यार्थीलाई पूँजी बजार बुझाउँदै नेप्से: 'भिजिट नेप्से' कार्यक्रममा सहभागी हुन विद्यालय र क्याम्पसलाई आह्वान

Aug 11, 2026 04:31 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले विद्यार्थीहरूलाई पूँजी बजार सम्बन्धी जानकारी दिने उद्देश्यले सञ्चालन गर्दै आएको 'भिजिट नेप्से' कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ। 

नेप्सेले आज एक सूचना जारी गर्दै चालू आर्थिक वर्ष २०८३/८४ का लागि यो कार्यक्रममा सहभागी हुन इच्छुक शैक्षिक संस्थाहरूलाई दर्ताका लागि आग्रह गरेको हो।

विद्यार्थीहरूलाई पूँजी बजारको कार्यप्रणाली, शेयर कारोबार र लगानीका विविध पक्षबारे व्यवहारिक ज्ञान प्रदान गर्न नेप्सेले लामो समयदेखि अवलोकन भ्रमण तथा अन्तक्रिया (Visit NEPSE) कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रममा आफ्ना विद्यार्थीहरूलाई सहभागी गराउन इच्छुक विद्यालय तथा क्याम्पसहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् भदौ ९ गतेसम्ममा आवेदन दिनुपर्नेछ।

इच्छुक संस्थाहरूले नेप्सेको ईमेल ठेगाना nepseresearch@nepalstock.com.np मार्फत दर्ता गराउन सक्नेछन्। दर्ताका लागि क्याम्पस वा विद्यालयको नाम र ठेगाना, सहभागी हुने अनुमानित विद्यार्थी सङ्ख्या, भ्रमणका लागि प्रस्तावित मिति, सहभागी विद्यार्थीको कक्षा वा तह र सम्पर्क व्यक्तिको नाम तथा फोन नम्बर सहितको विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूमा पूँजी बजारप्रतिको रुचि बढाउनुका साथै वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा नेप्सेले लिएको छ। शैक्षिक संस्थाहरूले समयमै विवरण पठाएर यो अवसरको सदुपयोग गर्न सक्नेछन्।