मगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले राइडरहरूलाई हाल जारी रहेको आन्दोलन तत्काल स्थगित गरी संयम अपनाउन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न हार्दिक अपिल गरेको हो।
कम्पनीका अनुसार, आज पूर्वाधार विकास मन्त्रालय, स्वतन्त्र चालक फाउन्डेसन नेपालमार्फत राइडरहरूका मागका बारेमा जानकारी प्राप्त भएको छ। ती मागहरूका सम्बन्धमा आन्तरिक छलफल सुरु गरिएको र सम्बन्धित सबै पक्षहरूसँग समन्वय गरी चाँडो भन्दा चाँडो निकास निकाल्ने कम्पनीले जनाएको छ।
इनड्राइभरकी निर्देशक रीता पोखरेलद्वारा हस्ताक्षरित उक्त पत्रमा भनिएको छ, ‘उक्त मागपत्रमा उल्लेखित सम्पूर्ण जायज मागहरूको सम्बोधन गर्न आन्तरिक छलफल, पूर्वाधार विकास मन्त्रालय, स्वतन्त्र चालक फाउन्डेसन नेपाल, आईओई पुल्चोक, अन्य राइड शेयरिङ कम्पनी लगायतका सम्पूर्ण सरोकारवालाहरूसँग समन्वय गरी वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न हामी तयार छौँ।’
कम्पनीले वार्ताको प्रक्रिया अगाडि बढाउनका लागि आन्दोलन रोकेर सहयोग गरिदिन राइडरहरूलाई आग्रह गरेको छ। विगत केही समयदेखि विभिन्न मागहरू राख्दै राइडरहरूले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए, जसका कारण सेवाग्राही र चालक दुवै मर्कामा पर्दै आएका छन्।
अब कम्पनीले औपचारिक रूपमै वार्ताको प्रतिवद्धता जनाएपछि राइडरहरूका माग कसरी सम्बोधन हुन्छन् भन्ने विषयमा सबैको चासो बढेको छ।