वैज्ञानिक मूल्य निर्धारण र डिजिटल प्रणालीमा जोड दिँदै 'प्राथमिक पूँजी बजार सुधार नीति, २०८३' सार्वजनिक

Aug 12, 2026 08:39 PM Merolagani



नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ 'प्राथमिक पूँजी बजार सुधार नीति, २०८३' सार्वजनिक गरिएको छ

धितोपत्र बोर्डद्वारा गठित 'प्राथमिक बजार सुधार सहजीकरण कार्यदल'ले तयार पारेको उक्त नीति बुधबार सार्वजनिक गरिएको हो। मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि समेतको सहभागिता रहेको कार्यदलले नेपालको पूँजी बजारलाई दक्षिण एसियाकै प्रतिस्पर्धी र विश्वसनीय बनाउने लक्ष्यका साथ यो नीति तर्जुमा गरेको हो।

नीतिका मुख्य विशेषता र लक्ष्यहरू:

सार्वजनिक गरिएको नयाँ नीतिले विशेषगरी वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली (Scientific and Market-based Pricing) कार्यान्वयनमा जोड दिएको छ। यसका साथै सार्वजनिक निष्काशन (IPO) प्रक्रियालाई पूर्णतः डिजिटल, पारदर्शी र समयबद्ध बनाउने रणनीतिक लक्ष्य लिइएको छ।

नीतिमा समेटिएका अन्य प्रमुख बुँदाहरू यस प्रकार छन्:

दीर्घकालीन पूँजी परिचालन: उद्योग, पूर्वाधार, नवप्रवर्तन, साना तथा मझौला उद्यम (SME), र हरित परियोजनाहरूका लागि आवश्यक पूँजीको सहज उपलब्धता सुनिश्चित गर्ने।

संस्थागत लगानीकर्ताको भूमिका: योग्य संस्थागत लगानीकर्ता र 'एङ्कर' लगानीकर्ताको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने। SME र स्टार्टअपलाई प्राथमिकता: प्रविधिमुखी, नवप्रवर्तनमुखी र उच्च वृद्धि भएका उद्यमहरूको पूँजी बजारमा पहुँच विस्तार गर्ने।

ESG र दिगोपन: वातावरणीय, सामाजिक र सुशासन (ESG) सम्बन्धी सूचना प्रवाहलाई संस्थागत गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्ने।

 

अनुगमन र सुशासन: सार्वजनिक निष्काशन पश्चात् प्राप्त पूँजीको उपयोगको प्रभावकारी अनुगमन गर्ने र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने।

आर्थिक समृद्धिको आधार

बोर्डका अनुसार यो नीतिको कार्यान्वयनसँगै नेपालको प्राथमिक पूँजी बजार अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको हुनेछ। यसले राष्ट्रिय आर्थिक समृद्धिका लागि आवश्यक दीर्घकालीन पूँजी परिचालनको बलियो आधार निर्माण गर्ने विश्वास बोर्डले व्यक्त गरेको छ। पूँजी बजारमा नयाँ प्रविधिको प्रयोग र उच्चस्तरीय नियमनले लगानीकर्ताहरूको विश्वास अभिवृद्धि हुनुका साथै नेपाली बजारलाई क्षेत्रीय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने देखिन्छ।