मुक्तिनाथ विकास बैंक बन्याे १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने पहिलाे विकास बैंक, कति कमायो नाफा?

Aug 12, 2026 09:13 AM Merolagani



मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ। यससँगै मुक्तिनाथ विकास बैंक १ खर्ब बढी कर्जा प्रवाह गर्ने पहिलाे विकास बैंक बनेकाे छ। 

 

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा कम्पनीको कर्जा ३.३८ प्रतिशत बढेको हो। बैंकको निक्षेप भने समीक्षा अवधिमा ५.२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.८९ प्रतिशत र सञ्चालन मुनाफा २०.२३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। त्यसैगरी, असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ।

८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।