६ दिनसम्म चलेको मेलाको समापनमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी कुल ४ हजार ४७० भन्दा बढी सवारी साधन बुकिङ भएका छन्।
चार पाङ्ग्रेमा बिवाइडीको अग्रता
चार पाङ्ग्रे सवारी साधनतर्फ कुल ३ हजार २९० युनिट बुकिङ भएको छ। यसमा चिनियाँ ईभी ब्रान्ड बिवाइडीले सर्वाधिक १,००० युनिट बुकिङका साथ बजारमा आफ्नो बलियो पकड देखाएको छ। यस्तै, टाटा र चेरीले समान ७००–७०० युनिट बुकिङ प्राप्त गर्दै दोस्रो स्थान ओगटेका छन्।
अन्य प्रमुख ब्रान्डहरूमा लिपमोटरले २०० युनिट, हुन्डाईले १५० युनिट र महिन्द्रा तथा एमजीले समान १००–१०० युनिट बुकिङ पाएका छन्। कियाको ७०,होङ्ग्छीको ५५, र ओमोडा जेको तथा आईकारको ५०–५० युनिट बुकिङ भएको छ।
दुई पाङ्ग्रेमा एथरको क्रेज
दुई पाङ्ग्रे सवारी साधनतर्फ कुल १ हजार १८० युनिट बुकिङ भएको छ। यसमा इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले सबैभन्दा धेरै ४०० युनिट बुकिङ पाएको छ। सिएक्स मोटो र टिभीएसले समान २००–२०० युनिट बुकिङ प्राप्त गरेका छन्। प्रिमियम ब्रान्डतर्फ ट्रायम्फ र रोयल इन्फिल्डले पनि १००–१०० युनिटको उत्साहजनक बुकिङ पाएका छन्।
ब्रान्डगत बुकिङ विवरण यस्तो छ

बजारमा सकारात्मक उत्साह
अटो शो समापनका अवसरमा नाइमाकी अध्यक्ष रितुसिंह वैद्य र एक्सपो संयोजक गौरव सारडाका अनुसार यो बुकिङ सङ्ख्याले सुस्ताइरहेको अटोमोबाइल बजारमा नयाँ ऊर्जा थपेको छ। १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताले रुचि देखाउनु र हजारौँको सङ्ख्यामा बुकिङ हुनुले नेपाली उपभोक्ताहरू अझै पनि नयाँ प्रविधि,विशेषगरी विद्युतीय सवारी साधनप्रति निकै आकर्षित छन् भन्ने पुष्टि गरेको छ।
साउन २६ देखि ३१ सम्म भृकुटीमण्डपमा चलेको यस मेलाले सवारी खरिद गर्न चाहनेहरूका लागि एउटै थलोमा विभिन्न विकल्प र सुलभ बैंक फाइनान्सिङको अवसर प्रदान गरेको थियो।