महासंघका अनुसार, गत साउन ३१ गते आइतबार पनि सुनको मूल्य ३ हजार ६०० रुपैयाँ बढेको थियाे । उक्त दिन सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे । त्यस्तैगरी, भदौ १ गते सोमबार पनि १६०० रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको थियाे ।
त्यस्तै, भदौ २ गते मंगलबार भने सुनको मूल्य स्थिर रह्यो । भदौ ३ गते बुधबार भने सुनको मूल्य घटेको थियाे । उक्त दिन प्रतितोला २७०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, भदौ ४ गते बिहीबार भने सुनको मूल्य उच्च दरले बढ्यो । एकैदिन सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेर उक्त दिन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । भदौ ५ गते शुक्रबार पनि सुनको मूल्य ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्न थालेको सुन व्यवसायीहरु बताउँछन् । व्यवसायीका अनुसार, होर्मुज जलमार्गमा देखिएको गतिरोधका कारण र आन्तरिक रुपमा उपभोक्ता क्रयशक्ति घटेकाले पनि सुनको मूल्य बढेको हो । ‘अहिले मुख्यगरी अमेरिका, इरानबीच होर्मुज जलमार्गका बारेमा देखिएको गतिरोधका कारण पनि सुनको मूल्य ह्रवात्तै बढेको हो,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने ।
उनका अनुसार, इरान र ओमानबीच सम्झौता हुन लागेकोमा ट्रम्प चिढिएको र होर्मुज जलमार्ग नियन्त्रणमा लिएकाले त्यसको प्रत्यक्ष असर सुनबजारमा परेको हो ।
उनले नेपाली उपभोक्ताको क्रय शक्ति नबढ्दा सुन किन्न नसकेको र अन्तराष्ट्रिय रुपमा सुनको सञ्चिति बढेकाले मूल्य बढ्न गएको बताए ।
साउन महिनामा भित्रियो ५० किलो सुन
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिना (साउन) को तथ्याङ्कअनुसार नेपालमा साउनमा मात्रै १ अर्ब २ करोड रुपैयाँभन्दा बढीको सुन आयात भएको छ । तथ्याङ्कअनुसार साउन महिनामा मात्रै कुल ५० हजार ग्राम अर्थात् ५० किलो ‘फाइन गोल्ड’ नेपाल भित्रिएको हो । उक्त परिमाणको सुन आयात गर्दा १ हजार २६ दशमलव ५५ मिलियन अर्थात् करिब १ अर्ब २ करोड ६६ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ ।
पछिल्लो समय सुनको मूल्यमा भइरहेको उतारचढावका बीच भन्सार विभागको यो तथ्याङ्कले साउन महिनामा सुनको आयातको अवस्थालाई स्पष्ट पारेको छ ।