विश्व फिनटेक मञ्चमा नेपाली कम्पनी आइमार्कको फड्को: 'बेस्ट पेमेन्ट्स सोलुसन' अवार्डका लागि मनोनयनमा

Aug 24, 2026 03:01 PM Merolagani



नेपालको डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको आइमार्क प्रालि विश्वचर्चित फिनटेक सम्मेलन 'ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२६' को प्रतिष्ठित ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयनमा परेको छ ।

भारतको मुम्बईमा आगामी सेप्टेम्बर ८ देखि ११ गतेसम्म आयोजना हुने यस जीएफएफ सम्मेलनमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक निकाय, फिनटेक कम्पनी, स्टार्टअप तथा प्रविधि क्षेत्रका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

विश्वका दिग्गज कम्पनीसँग प्रतिस्पर्धा
‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधाको अन्तिम मनोनयन (सर्टलिस्ट) मा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट जस्ता प्रतिष्ठित कम्पनीहरू परेका छन् । गत वर्ष यो विधाको अवार्ड भारतको ठूलो डिजिटल भुक्तानी कम्पनी 'पेटिएम' (Paytm) ले जितेको थियो । यसपटक नेपाली कम्पनी यस श्रेणीमा पर्नुलाई नेपालको डिजिटल भुक्तानी क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

के हो जीएफएफ २०२६ ?

यस वर्षको जीएफएफको मुख्य नारा ‘पोटेन्सियल टु इम्प्याक्ट’ (Potential to Impact) रहेको छ । सम्मेलनमा एजेन्टिक एआई, टोकनाइजेसन र क्वान्टम प्रविधिका साथै डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा सुरक्षा र डिजिटल रूपान्तरणका नवीनतम आयामबारे घनिभूत छलफल हुनेछ ।

आयोजकका अनुसार यस महाकुम्भमा ८० भन्दा बढी देशका प्रतिनिधि, ८० भन्दा बढी नियामक निकाय, १ लाखभन्दा बढी सहभागी, ५ हजारभन्दा बढी संस्था र ४ हजार ५ सयभन्दा बढी स्टार्टअपको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सुरक्षित र नवीन सेवामा प्रतिबद्धता

आइमार्कले स्थापनाकालदेखि नै सुरक्षित, भरपर्दो र नवीन डिजिटल भुक्तानी समाधानहरू विकास गर्दै आएको छ । कम्पनीले ग्राहककेन्द्रितता, चुस्तता, पारदर्शिता र निरन्तर सुधारलाई आफ्नो मुख्य कार्यसंस्कृतिको आधार बनाएको जनाएको छ ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गानाले आफ्नो टोलीको मेहनत तथा ग्राहक र साझेदारहरूको अटुट विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर मिलेको बताउनुभयो ।

आइमार्कको यो मनोनयनले नेपाली डिजिटल भुक्तानी प्रविधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन थालेको प्रमाणित गरेको छ । यसले नेपालमा विकसित भइरहेका प्रविधि र डिजिटल सेवाको सम्भावनालाई विश्व बजारमा चिनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।