रास्वपा सभापति रवि लामिछानेले भन्नुभयो -अब यसरी हुन्न

Aug 24, 2026 06:15 AM Merolagani



तिलक कोइराला ।

साताको अन्तिम दिन विहानै मोबाईलमा संदेश आयो -"विहान ११ः३० बजेको समय मिलेको छ, बुढानीलकण्ठ आउनुहोला ।"

दुई तिहाई बहुमतको सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका शक्तिशाली सभापति रवि लामिछानेसँग भेट गर्न जाँदा देशको अर्थतन्त्र र पूँजी बजार चलायमान बनाउने उपायहरुको कोशेली लैजानु पर्ने थियो । तर हतारोमा गर्दा हुनुपर्ने काम पनि नहुने र बिग्रने विगतका अनुभवबाट सिकेर म रित्तो हात बुढानीलकण्ठ पुगें ।

सभापति रवि लामिछानेको निवास कहाँ हो भन्ने ठम्याउन गाह्रो परेपछि फोन गरेर लोकेशन सोध्दै भित्र पसें । निवास कम्पाउण्ड भित्र गाडीबाट ओर्लनासाथ उहाँका सहयोगीहरुले सिधै पहिलो तलामा लैजानु भयो, जहाँ सभापति रवि र भाउजु केही कुराकानी गर्दै हुनुहुँदो रहेछ । म बैठक कक्षभित्र पुग्नासाथ भाउजु बाहिर निस्कन लाग्नु भयो । मैले "भाउजु पनि बस्दा हुन्थ्यो नि" भनें । भाउजुले "हैन, हैन, हजुरहरु बसेर कुरा गर्नुस" भन्दै बाहिरिनु भयो । ढोका लाग्यो, बैठक कक्षमा सभापतिजी र म मात्रै थियौं ।

कुराको शुरुवात मैले "हामी समकालीन पत्रकार थियौं नि" भन्ने प्रंसंगबाट गरें । उहाँले नेपाल टेलिभिजनमा प्रधानमन्त्रीसँग सिधा कुरा भन्ने कार्यक्रम चलाउँदा म नेपाल वान टेलिभिजनमा थिएँ भन्ने कुरा सुनाए अनि उहाँ न्युज ट्वान्टी फोरमा हुँदा म ईमेज टेलिभिजनमा समाचार सम्पादक थिएँ भने । अनि, अहिले सक्रिय पत्रकारिताबाट अलग भएर पूँजी बजारमा लगानीकर्ताको भुमिका खेलिरहेको जानकारी गराएँ ।

यसपछि मैले पूँजी बजार र अर्थतन्त्रको अवस्थाबारे बताउँदै बिषय अगाडि बढाएँ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गत चुनावसम्म पूँजी बजारमा जोडिएका ७० लाख जनता मध्ये अधिकांशले रास्वपालाई मतदान गरेर ठूलो आशा र बिस्वास गरेको स्मरण गराएँ । हामीहरुले पनि "अरु पार्टीको भन्दा रास्वपाको बाचा पत्र पूँजी बजार मैत्री भएको र बजारका समस्या समाधान पनि यही पार्टीले गर्नसक्ने" भन्दै देश दौडाहा गरेर मत मागेको कुरा ध्यानाकर्षण गराएँ । डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्छ भनेर हामीले नै भनेको तर अहिले आएर पूँजी बजारका लगानीकर्ता वर्तमान सरकार र अर्थमन्त्री वाग्लेकै रवैयाले प्रताडित भएको जानकारी पनि गराएँ । पूँजी बजारमा निस्सासिदो निराशाको अवस्था छ भनें ।

अहिले बैंक तथा बित्तीय संस्थाहरुमा पैसा फालाफाल रहेको, ब्याज दर ईतिहासकै न्युन विन्दुमा रहेको तर पूँजी बजार र अर्थतन्त्रले ठूलो संकट ब्यहोरेर सर्बत्र निराशा छाएको अवस्था चित्रण गर्दै यस्तो बेलामा पनि अर्थतन्त्र चलायमान बनाउने मौका चुक्यो भने रास्वपा सरकार नै बदनाम हुने संभावनाबारे ध्यानाकर्षण गराएँ । लगानीकर्ताहरु निराश हुँदै पूँजी बजारबाट पलायन भईरहेको बेला अर्थमन्त्रीले उल्टो पूँजीगत लाभकरको दर बढाएर झन् निराशा थपेको, बिजुलीको माग बढाएर खेर गईरहेको ११०० मेगावाट भन्दा बढी विजुली उपयोग गर्नुपर्नेमा धेरै विजुली उपभोग गर्नेलाई भ्याट लगाईदिएर उल्टो काम गरेको, एनआरएनलाई पूँजी बजारमा ल्याउने कुरा गरे पनि २५ प्रतिशत कर यथावत राखेको, अर्थ मन्त्रालय र नियमनकारी निकायहरुले एक, दुई दिनमै गर्न सकिने काम पनि नगरेर अल्झाई पूँजी बजारमा माग बढाउने काममा वेवास्ता गरेको बेलिबिस्तार लगाएँ ।

मैले अहिले लगानीकर्तामा सबैभन्दा ठूलो विस्वासको संकट रहेको कुरा जानकारी गराएँ । त्यसमाथि अर्थमन्त्री वाग्लेका सर्बसाधारणलाई नै आतंकित पार्ने खालका अभिब्ब्यक्तिहरु घातक रहेकाले उहाँलाई भाषणबाजीमा लगाम लगाएर उद्योगी ब्यवसायीलाई पार्टीकै माथिल्लो तहबाट विस्वासमा लिनुपर्ने कुरा खरो रुपमा राखें । नत्र पूँजी पलायनको खतरा बढ्छ भनें ।

सम्पति शुद्धिकरणको नाममा केही बदमासहरुलाई कारबाही गर्ने राम्रो काम भएको छ तर त्यसको असर बदमासहरु भन्दा बढी साधारण ब्यवसायी र लगानीकर्ताहरु तर्सिएका छन् । बदमासहरु पहिल्यै भागे तर आतंंक चाँही सर्बसाधारण लगानीकर्ता र निर्दोष ब्यवसायीमा परेको छ, यो आतंक तत्काल बन्द हुनुपर्छ र आम सर्बसाधारण जनतालाई विस्वासमा लिएर लगानीको वातावरण बनाई हाल्नु पर्छ - मैले भनें ।

झण्डै ३० मिनेट एकोहोरो मेरो कुरा ध्यानपुर्वक सुनेपछि सभापतिजीले सोध्नुभयो- यति धेरै गंभीर कुरा रहेछ, प्रधानमन्त्री र अर्थमन्त्रीज्यूलाई भेटेर भन्नु भएन ?

प्रधानमन्त्रीज्यूले केही सेयर दलाल र लगानीकर्ताहरुलाई भेटेको प्रंसंगमा मैले भनें- प्रधानमन्त्रीज्यूले सकारात्मक रुपमा पहल गर्नु भएको हो तर लाईन एजेन्सी र नियमनककारी निकाय त अर्थ मन्त्रालय मातहत छन्, जबसम्म अर्थ मन्त्रीले काम गराउनु हुन्न, ती निकायहरुले काम गर्दैनन् । अर्थ मन्त्रालयबाट हुनुपर्ने धेरै काम छन् ।

सभापतिज्यूले फेरि सोध्नुभयो-अर्थ मन्त्रीज्यूसँग भेट्नु भएन ?

मैले जवाफमा भने- अर्थमन्त्रीमा वाग्लेज्यू नियुक्त हुनासाथ तेस्रो दिनमा मन्त्रालयमै गएर भेटी २४ वटा काम फटाफट गर्नुपर्यो । रास्वपालाई मतदान गर्ने बहुसख्यक लगानीकर्ताले यो सरकारबाट ठूलो आश गरेका छन् । तर उहाँले "म पाँच बर्षका लागि अर्थमन्त्री भएको हुँ । म त आरामले पाँच बर्षसम्ममा बाचा पत्र अनुसार काम गर्ने हो, अहिले केही हुन्न, पाँच बर्षमा नेप्से अलटाईम हाई हुन्छ । लौ जानुस" भन्नु भयो। म बाहिर निस्के  । चार महिनासम्म झन् बेहालको अवस्था भयो, धेरै लगानीकर्ता बजारबाट पलायन भईसके । दैनिक कारोबार तीन अर्वमा सिमित भईसक्यो, धेरै ब्रोकरको दैनिक खर्च पनि नधान्ने अबस्था आयो, सरकारले राजश्वको ठूलो हिस्सा गुमायो । यस्तै अवस्था रहे दैैनिक कारोबार रकम दुई अर्ब तल आउँछ, नेपाल स्टक एक्सचेन्जको दैनिक खर्च पनि उठ्दैन, लगानीकर्तामा चरम निराशा उत्पन्न भएर पार्टीले ठूलो क्षति भोग्नुपर्छ, के थाहा विद्रोहको बिऊ कसले रोपिदिन्छ !

मैले विज्ञ भनेर अर्थमन्त्री भएका डा. युवराज खतिवडा र डा. प्रकाशशरण महतको पतनका कारणहरु बताएँ र डा. स्वर्णिम वाग्लेमा पनि त्यस्तै प्रबृति दोहोरिएको खुलेर राखें ।

मैले अलि लामो बोलेछु, सभापतिजीले बीचमै रोक्दै भन्नुभयो- समस्या गंभीर रहेछन् । अब यसरी हुन्न, म तत्कालै पहल गर्छु । तपाइँले तीन दिन भित्रमा केही ठोस योजनाहरु लेखेर दिनुस । अब हाम्रो पार्टीले यस समस्यालाई समाधान गरेन भन विरोधीहरुले पनि यसैलाई मसला बनाउँछन् । २-३ लाख मानिसहरु यसैपनि अनलाईन बसेर सेयर कारोबार गरिरहेका हुन्छन्, नराम्रो हुँदै गयो भने उनीहरुले नै नराम्रो कुरा सामाजिक संजालमा पोष्ट गर्छन । स्थानीय तहको चुनाव पनि नजिकिदै गर्दा अब ढिला गर्नुहुन्न । म तत्कालै स्वर्णिमजीलाई राखेर समाधान खोज्छु ।

सभापतिजीले निकै गंभिरता देखाएर आजको कुुुराकानी एकदम महत्वपूर्ण र फलदायी रहेको प्रतिक्रिया दिनुभयो ।

मैले भनें- पूँजी बजार चलायमान बनाएर अर्थतन्त्रलाई पनि चलायमान बनाउने अहिले ठूलो मौका छ । पूँजी बजार चलायमान भयो भने मात्र अर्थतन्त्र चलायमान हुन्छ । यहाँ ब्यापारी, उद्योगपति, जागिरे, सेना, प्रहरी, गृहिणी, बैदेशिक रोजगारीमा गएका, विद्यार्थी, गृहिणी, किसान सबैको लगानी फसेको छ । गृहमन्त्री र अर्थमन्त्रीको बोली र ब्यवहारले लगानीकर्ताको गुमेको मनोवल फर्किने संभावना छैन । हजुरले नै तत्काल पहल गर्नु पर्यो ।

सभापतिजीले स्पष्ट शब्दमा भन्नुभयो - मैले यो कुरा राम्रोसँग बुझें, म समाधानको नेतृत्व गर्छु । मलाई तीन दिन भित्रमा के के गर्नुपर्ने हो खाकासहित योजना दिनुस । स्वर्णिमजीलाई राखेर छलफल गरी म काम गराउँछु ।

सभापतिजीको कुराबाट उत्साहित भएर घर फर्किएँ ।

दुई दिनसम्म मेहनत गरेर सरकारले तत्काल गर्नुपर्ने १४ बुँदा तयार गरी उहाँका सहयोगी मार्फत पठाएको छु ।

मेरो निष्कर्ष रह्यो - पूँजी बजार र अर्थतन्त्रको समस्यालाई रास्वपाको शीर्ष नेतृत्वले अब राम्रोसँग बुझेको छ र सभापति लामिछानेको पहल सार्थक हुनेछ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।