प्रतिवेदनकाअनुसार, वार्षिक ७० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिको आम्दानीको ५६ प्रतिशत हिस्सा राष्ट्रिय औसत घरभाडा तिर्नमै खर्च हुने गरेको छ । त्यसैगरी, वार्षिक ४० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिका लागि आवास खर्च कुल आम्दानीको ८९ प्रतिशत पुग्छ भने वार्षिक १ लाख डलर आम्दानी गर्नेहरूले समेत आफ्नो कमाइको ४१ प्रतिशत हिस्सा भाडामै खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।
अष्ट्रेलियाका आठवटै मुख्य शहरहरूमा औसत कमाइ गर्ने कर्मचारीहरूले एउटा युनिटको औसत भाडा तिर्न आफ्नो आम्दानीको कम्तीमा ५१ प्रतिशत खर्च गर्नुपर्ने देखिएको छ । सिड्नीमा ७० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिले आफ्नो आम्दानीको ६९ प्रतिशत हिस्सा साप्ताहिक घरभाडामै खर्च गर्नुपर्छ, जुन अन्य सबै सहरहरूको तुलनामा उच्च अनुपात हो ।
अष्ट्रेलियाली तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अगस्ट २०२५ सम्ममा अष्ट्रेलियाली कर्मचारीहरूको औसत वार्षिक तलब ७४ हजार १०० अष्ट्रेलियाली डलर रहेको छ । आवास वकालत समूहकी प्रतिनिधि माई अजिजले सरकारले सार्वजनिक र सामुदायिक आवास निर्माणबाट हात झिकेका कारण देशमा गम्भीर आवास संकट उत्पन्न भएको बताए । ‘संघीय सरकारले ठूलो मात्रामा सार्वजनिक र सामुदायिक आवासहरू निर्माण गर्न आवश्यक छ । अष्ट्रेलियालाई आगामी १५ वर्षभित्र करिब १० लाख यस्ता घरहरूको आवश्यकता पर्ने देखिन्छ,’ अजिजले भने ।