राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकले उद्धार र राहतका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। निजी क्षेत्रका ३४ वटा हेलिकप्टरलाई पनि अन्यत्र नजान भनिएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ड्रोन एसोसिएसन र र्याफ्टिङ एसोसिएसनलाई समेत आवश्यक परे तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ।
बुधबार बिहान करिब ८ः४० बजे रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको बाढीबारे कमान्ड पोस्टलाई बिहान ९ बजे जानकारी प्राप्त भएको थियो। बाढीले प्रहरी चौकी, भन्सार कार्यालय तथा स्वास्थ्य चौकीहरूमा समेत असर पुर्याएको प्रारम्भिक जानकारी आएको छ।
एनटीसी र एनसेलका सञ्चार टावरमा पनि क्षति पुगेको बताइएको छ। क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको छ।
प्राधिकरणले तिब्बततर्फ गएको हिमपहिरो, हिउँ पग्लिएर नदी थुनिनु र पछि एक्कासि थुनिएको पानी खुल्दा बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। उद्धार निकायहरू अहिले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा केन्द्रित भएका छन्।