प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा तत्काल आवश्यक निर्णय गरिनेछ। बाढीले रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हब २२० केभी सबस्टेसनलगायत महत्वपूर्ण जलविद्युत् तथा विद्युत् संरचनामा क्षति पुर्याएको छ। साथै, सीमा क्षेत्र र अन्य भौतिक संरचनामा समेत क्षति पुगेको विवरण सार्वजनिक भएको छ।
आकस्मिक बैठकबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप तीव्र बनाउने, सुरक्षा निकाय परिचालन गर्ने, राहत व्यवस्थापन गर्ने तथा विद्युत् र अन्य अत्यावश्यक सेवा तत्काल सञ्चालनमा ल्याउनेबारे निर्णय हुन सक्ने अपेक्षा गरिएको छ। बैठकलाई सरकारले बाढीपछिको अवस्थाबारे लिने प्रारम्भिक उच्चस्तरीय निर्णयका रूपमा हेरिएको छ।