प्राप्त पछिल्लो विवरणअनुसार ५ वटा प्रमुख आयोजनाका २०० भन्दा बढी कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन भएका छन् भने कतिपय सुरुङभित्रै थुनिएका छन्।
१। माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) निर्माणाधीन आयोजनामा सबैभन्दा ठूलो क्षति देखिएको छ। आयोजनाको इलेक्ट्रो–मेकानिकल ठेकेदार एन्ड्रिज हाइड्रोका ७६ जना कर्मचारी सम्पर्कविहीन छन्, जसमा आधा नेपाली र आधा विदेशी नागरिक छन्।
यस्तै, प्रवर्द्धक कम्पनीका ११ जना कर्मचारी पनि बेपत्ता छन्, जसमा ८ जना कोरियन नागरिक रहेका छन्। आयोजनाका ७ जना परामर्शदाताहरू पनि सम्पर्कविहीन छन्। हाल आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना र पावर हाउस क्षेत्रमा २०० भन्दा बढी कामदारहरू उद्धारको पर्खाइमा रहेका छन्।
त्यस्तै, लाङटाङ खोला जलविद्युत् (२० मेगावाट)को सुरुङभित्र २५ जना स्टाफ र ३५ जना कामदार गरी कुल ६० जना थुनिएका छन्। उनीहरूसँग अहिलेसम्म कुनै सम्पर्क स्थापित हुन सकेको छैन। हेलिकप्टरको अभावका कारण उद्धार टोली घटनास्थल पुग्न सकिरहेको छैन।
त्यस्तै, रसुवागढी जलविद्युत् आयोजना(१११ मेगावाट) मा कार्यरत ५१ जना कर्मचारीहरू बाढीपछि सम्पर्कविहीन भएका छन्। टिमुरे क्षेत्रमा ३ जना कर्मचारीले अग्लो ठाउँमा उक्लिएर ज्यान जोगाउन सफल भए पनि अन्यसँग सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
मैलुङ खोला जलविद्युत् आयोजना (५ मेगावाट) को विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न हेलिकप्टरमार्फत हवाई अवलोकन गर्ने तयारी भइरहेको छ।
रसुवा भोटेकोशी (१२० मेगावाट) आयोजनाका सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका २ जना कामदार हराइरहेका छन्। अन्य ५ जना ९३ चिनियाँ र २ नेपाली० नजिकैको गाउँमा शरण लिएर बसेका छन् र उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको छ।
उद्धारमा कठिनाइ
बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्क विच्छेद भएकाले वास्तविक क्षतिको विवरण सङ्कलन गर्न कठिन भएको छ। खराब मौसम र भौगोलिक विकटताका कारण हेलिकप्टरमार्फत गरिने उद्धार कार्यमा समेत ढिलाइ भइरहेको छ। ऊर्जा मन्त्रालय र सम्बद्ध कम्पनीहरूले उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय गरिरहेका छन्।