बाढीमा फसेका कर्मचारी र मजदुरको उद्धारमा विद्युत् प्राधिकरण सक्रिय, थप हेलिकप्टर परिचालन

Aug 28, 2026 01:32 PM merolagani



नेपाल विद्युत् प्राधिकरणले बाढी र पहिरोका कारण विभिन्न जलविद्युत् आयोजनाहरूमा फसेका कर्मचारी तथा मजदुरहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ। 

बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका जनशक्तिको सुरक्षित उद्धारका लागि प्राधिकरणले आज काठमाडौँबाट थप हेलिकप्टर र आवश्यक सामग्रीहरू पठाएको छ।

प्राधिकरणका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक उपकरण, राहत सामग्री र दक्ष जनशक्तिसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ। सुरक्षाकर्मी तथा अन्य सम्बन्धित निकायहरूसँगको प्रत्यक्ष समन्वयमा सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्दै हेलिकप्टर परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

विशेषगरी नुवाकोट र रसुवा जिल्लामा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूमा कार्यरत कर्मचारी र मजदुरहरू बाढीका कारण जोखिममा परेका छन्। उद्धार टोलीले ती क्षेत्रका साथै शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीहरूलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकता दिएको छ।

प्राधिकरणले विपद्को यस घडीमा आयोजनाहरूमा कार्यरत जनशक्तिको सुरक्षा र उद्धारलाई नै आफ्नो उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेको छ। आवश्यकताअनुसार थप राहत र उद्धारका कार्यक्रमहरूलाई निरन्तरता दिइने प्राधिकरणको भनाइ छ।

यसैबीच, प्राधिकरणले यो कठिन परिस्थितिमा सबैलाई धैर्य र संयम कायम राख्न अपिल गरेको छ। साथै, सामाजिक सञ्जालमा आउने अनधिकृत हल्लाहरूको पछि नलागी आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न प्राधिकरणले सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।