पोखरा महानगरपालिका–१७, हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३०, ढुंगेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीकाको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिइन् ।
दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा सुष्माको मृत्यु शुक्रबारै राति भएको थियो । उनकी छोरीको मृत्यु आज (भदौ १३) बिहान भएको प्रहरीले जनाएको छ ।
स्थानीय कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए । भारी वर्षाका कारण सडकमा भेल बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थिए । स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पुर्याएको थियो ।
छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन् । त्यसपछि भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो ।
श्रीमान् कमलले हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए । आमाछोरीलाई पोखरा–१७, बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । रासस