गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना कार्यालय, बिदुरले विपद्पछिको पुनर्निर्माण र मर्मत कार्यका लागि आज सार्वजनिक सूचना जारी गर्दै दरभाउ पत्र आह्वान गरेको हो।
हालैको बाढीले यस सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याउनुका साथै पुलहरू समेत बगाएको छ। सोही समस्या समाधानका लागि योजना कार्यालयले १३ वटा विभिन्न शीर्षकका कामहरू अघि बढाएको छ।
सुचनाअनुसार, तादी-देवीघाटमा बाढीले क्षति पुर्याएको पुलको विकल्पमा हेटौंडाबाट दुई लेनको बेलिब्रिज ढुवानी गरी जडान गरिने भएको छ। तादी नदीमा क्षतिग्रस्त भएको स्टिल ट्रस पुलका पार्टपुर्जाहरू हटाउने र सुरक्षित स्थानमा राख्ने काम गरिनेछ।
सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। सडकलाई सुरक्षित बनाउन ग्याबियन वाल ह्युम पाइप जडान र विभिन्न स्थानमा सडक उत्खननको काम गरिने सूचनामा उल्लेख छ।
योजना कार्यालयका अनुसार इच्छुक योग्य बोलपत्रदाताहरूले भदौ १७ गते बेलुकी ४ बजेसम्म दरभाउ पत्र बुझाउन सक्नेछन्। सोही दिन बेलुकी ४:१५ बजे दरभाउ पत्र खोलिनेछ।

पछिल्लो समय रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूमा बाढीले पुर्याएको क्षति र त्यहाँ फसेका कर्मचारीहरूको उद्धारमा सडक अवरोधले कठिनाइ भइरहेका बेला यो सडकखण्डको मर्मत कार्यले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। राजधानीलाई चीनसँग जोड्ने यो रणनीतिक सडक पूर्ण रूपमा सुचारु भएपछि राहत र पुनर्निर्माणको कामले थप गति लिनेछ।