ग्यास नपाएपछि गोरखाका स्थानीय आन्दोलितः रित्तो सिलिण्डर सडकमा राखेर विरोध

Sep 01, 2026 12:07 PM merolagani



लामो समयदेखि खाना पकाउने ग्यासको अभाव भएपछि गोरखाको सिरानचोक गाउँपालिका–४ चोरकाटेका स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्।

 

मङ्गलबार स्थानीयले ग्यास नपाएको विरोधमा रित्तो सिलिण्डर सडकमा राखेर यातायात अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।

गत असार महिनादेखि नै चोरकाटे क्षेत्रमा ग्यासको हाहाकार भएपनि सम्बन्धित निकायले ध्यान नदिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको स्थानीयको भनाइ छ। आएको ग्यास पनि सबै गोरखा बजारतिरै लगिने र गाउँमा उपलब्ध नगराइने गरेकाले अभाव सिर्जना भएको उनीहरूले आरोप लगाएका छन्।

स्थानीय मदन श्रेष्ठले भने, ‘असार यता यहाँ ग्यासको हाहाकार छ। आएको ग्यास पनि सबै गोरखा बजार मात्र जान्छ, हामीले पाउँदैनौँ।’ ग्यास नहुँदा चुलोचौका गर्न र खाना पकाउन समेत निकै समस्या भएको उनले बताए।

मङ्गलबारको प्रदर्शन सांकेतिक मात्र भएको बताउँदै स्थानीयले ग्यासको आपूर्ति तत्काल सहज नबनाइए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। ‘आज हामीले सामान्य सचेत मात्र गराएका हौँ, यदि ग्यासको व्यवस्था भएन भने थप कडा आन्दोलन गर्छौं,’ उनीहरूको भनाइ छ।

ग्यास अभावका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहँदा स्थानीय प्रशासन र वितरण केन्द्रहरूले भने यसबारे ठोस पहल नगरेकोमा स्थानीय आक्रोशित छन्।