भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीहरूद्वारा १३ करोड १ लाख सहयोग

Sep 01, 2026 05:10 PM Merolagani



स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणका लागि १३ करोड १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन। ऊर्जा उद्यमीहरूले व्यक्तिगत र संस्थागत रूपमा संकलन गरेको यो रकम राज्यको संकटको घडीमा ठूलो सहयोग हुने विश्वास लिइएको छ।

चेक ग्रहण गर्दै ऊर्जामन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण जलविद्युत् परियोजनाहरूले ठूलो प्राकृतिक विपद् सामना गर्नु परिरहेको बताउँदै आगामी दिनमा जलवायुमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले संकटको बेला निजी क्षेत्रले राज्यलाई आर्थिक सहयोग गरेर भावनात्मक एकता र सहकार्यको सन्देश दिएको भन्दै उद्यमीहरूको प्रशंसा समेत गरे।

कार्यक्रममा ऊर्जा सचिव सरिता दवाडीले ऊर्जा उद्यमीहरू आफैँ संकटमा परेको बेला पनि सामाजिक उत्तरदायित्व वहन गर्दै गरेको यो सहयोग सह्रानीय भएको बताएका छन। इप्पानका अध्यक्ष डाँगीले भोटेकोशीको बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी दिँदै पीडितहरूको घाउमा मलम लगाउन उद्यमीहरू एकजुट भएको बताएका हुन। त्यस्तै, इप्पानका निवर्तमान अध्यक्ष तथा मन्त्रीका सल्लाहकार गणेश कार्कीले इप्पानले आर्थिक मात्र नभई बाढी प्रभावित क्षेत्रमा प्राविधिक सहयोग पनि उपलब्ध गराइरहेको स्मरण गराए । विपद्को यो समयमा ऊर्जा क्षेत्रले देखाएको सक्रियताले राज्य र निजी क्षेत्र बीचको सम्बन्धलाई थप मजबुत बनाएको कार्यक्रममा सहभागीहरूले उल्लेख गरे।

राहत कोषमा रकम जम्मा गर्ने प्रमुख सहयोगीहरूमा मोहनविक्रम कार्की समूहले एक करोड ६५ लाख, हिमप्रसाद पाठक समूहले एक करोड ५१ लाख र पुष्पज्योति ढुङ्गाना समूहले एक करोड सात लाख ७७ हजार ७७५ रुपैयाँ प्रदान गरेका छन्। त्यसैगरी बटु लामिछाने तथा गणेश कार्की समूहले ८७ लाख ७७ हजार ७७७, इशा श्रेष्ठ समूहले ६५ लाख, बुटवल पावर कम्पनीले ५१ लाख ४१ हजार, उत्तमब्लोन लामा समूह र माउन्टेन इनर्जी नेपालले जनही ५१ लाख तथा सुमन कर्माचार्य र अजयबल्लभ पन्तका समूहले जनही ५० लाख रुपैयाँ सहयोग गरेका छन्। अन्य सहयोगीहरूमा टिएन आचार्य, सन्तोषराज नेपाल, अध्यक्ष मोहनकुमार डाँगी, दिनेश गुरुङ, अनुप आचार्य, साङ्ग्रिला ऊर्जा, घलेम्द्री हाइड्रो र गोरक्ष हाइड्रो लगायतले जनही २५ लाख रुपैयाँ वा सोभन्दा बढीको योगदान पु-याएका छन्।

सहयोगको क्रममा कालङ्गा ग्रुप, न्यादी ग्रुप, बिजी ग्रुप, संयुक्त ऊर्जा, ग्रिन भेञ्चरर्स, इसुवा इनर्जी, अभियान समूह, लिबर्टी इनर्जी र विकास हाइड्रो लगायतका कम्पनीहरूले पाँच लाखदेखि २१ लाख रुपैयाँसम्मको आर्थिक सहायता उपलब्ध गराएका छन्। त्यस्तै सानीभेरी हाइड्रो, रिडी पावर, नर्थ समिट, सुपरहेवा, अपोलो, भिजन टेस्ला र चम्पावती हाइड्रो लगायतका दर्जनौँ कम्पनीहरूले पनि आफ्नो क्षमताअनुसार ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको सहयोग गरेका छन्। यसका अतिरिक्त इप्पान दैवीप्रकोप उद्धार कोषले छुट्टै छ लाख ३२ हजार २३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप तथा उद्धार कोषमा जम्मा गरेको छ, जसले बाढी प्रभावित क्षेत्रको पुनःर्निर्माण र राहत कार्यमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।