बाढीले सडक र पुलमा मात्रै ३० अर्बको क्षति, पुनर्निर्माणका लागि ५० अर्ब चाहिने

Sep 01, 2026 06:06 PM Merolagani



हरिप्रसाद शर्मा
गत भदौ १० गते र त्यसपछि रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकको भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुर्‍याएको छ। 

सडक विभागले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै बाढीका कारण सडक र पुलतर्फ मात्रै ३० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार क्षतिग्रस्त सडक र पुलहरूको स्थायी पुनर्निर्माण तथा मर्मतका लागि करिब ५० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

४० किलोमिटर सडक पूर्णरुपमा क्षति

बाढीले रणनीतिक महत्त्वको ८० किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडक आयोजनामा सबैभन्दा ठूलो असर पारेको छ। यस खण्डको करिब ४० किलोमिटर सडक बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको विभागले जनाएको छ। त्यस्तै, बाढीपछिको पहिरोले पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा सडक अवरुद्ध पारेको छ। विभागले तत्काल सडक मर्मतका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरी काम सुरु गरिसकेको छ।

पुल र तुइनको अवस्था

बाढीले देशभरका ३१ वटा पक्की पुल पूर्ण रूपमा नष्ट गरेको छ। आवागमन सहज बनाउन तत्काल ३ स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाइएको महानिर्देशक जैसीले जानकारी दिए। यस्तै, ५३ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ। सडक सम्पर्क टुटेका ठाउँमा विकल्पका रूपमा ५ ठाउँमा अस्थायी तुइन हाल्ने पहल भएको छ, जसमध्ये एक ठाउँमा सञ्चालनमा आइसकेको छ।

आपूर्ति व्यवस्था सहज बनाउने प्रयास

राजमार्गहरू अवरुद्ध भएपछि सरकारले इन्धन र ग्यास आपूर्तिका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने भएको छ। कान्ति लोकपथ मार्गबाट ग्यास र पेट्रोलियम पदार्थ ल्याउन पहल भइरहेको छ।

त्यस्तै, बीपी राजमार्गबाट पनि रातिको समयमा ग्यासका बुलेटहरू ल्याउन सकिने गरी व्यवस्था मिलाइँदैछ। यता,कोदारी राजमार्ग पनि हाल चालू अवस्थामा रहेको विभागले जनाएको छ।

खानेपानी र सरसफाइमा चुनौती

बाढीले खानेपानी क्षेत्रमा पनि ६४ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। नुवाकोटको बिदुर र बट्टार क्षेत्रमा खानेपानीको हाहाकार देखिएको छ। समस्या समाधानका लागि आजैदेखि १० लाख लिटर पानी लिफ्टिङमार्फत वितरण सुरु गरिएको छ भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड बाट ४ वटा ट्याङ्कर खानेपानी त्यसतर्फ पठाइएको छ।

आवास र शिक्षामा ४ अर्बको क्षति

विपद्का कारण देशभर ७ हजार ५७० निजी आवास क्षतिग्रस्त भएका छन्, जसबाट करिब १२ अर्ब रुपैयाँको आर्थिक क्षति भएको अनुमान छ। यस्तै, विद्यालय र अन्य शैक्षिक संरचनासहित ४५ वटा सार्वजनिक भवनमा ४ अर्बको क्षति पुगेको छ। हाल ३ हजार ४०० जना विस्थापितहरू विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

सडक विभागले १४ वटा हेभी उपकरणहरू परिचालन गरी अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेको छ। बेत्रावती–धुन्चे सडक खण्ड खुलाउनु अहिलेको मुख्य चुनौती रहेको विभागको भनाइ छ।