काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा सञ्चालित परीक्षणकालीन सेवा प्रभावकारी देखिएपछि सेवा विस्तारको तयारी थालिएको हो। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाका स्थानीय तहहरूको सक्रिय सहभागिता सुनिश्चित गरी रात्रिकालीन यातायातको दिगो प्रणाली स्थापना गर्न लागिएको जानकारी दिइन्। महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अनुसार हाल सञ्चालनमा रहेका ७ वटा बसको संख्या बढाएर २८ पुर्याउन सिफारिस गरिएको छ।
कुन-कुन ठाउँ पुग्छन् रात्रिकालीन बस ?
अध्ययन कार्यदलले तयार पारेको नयाँ सञ्जाल अनुसार उपत्यकाका प्रमुख नाका, व्यापारिक केन्द्र, अस्पताल र पर्यटकीय क्षेत्रहरूलाई जोड्ने गरी रुटहरू तय गरिएको छ ।
हाल सञ्चालनमा रहेका रुटहरू (२ वटा) :
-
नागढुंगा/थानकोट – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) : पश्चिमतर्फको मुख्य प्रवेशद्वार नागढुंगा/थानकोटबाट कलंकी, कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, नयाँ बानेश्वर, तीनकुने हुँदै विमानस्थलसम्म।
-
लगनखेल – बूढानीलकण्ठ : ललितपुरको लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, रत्नपार्क, लैनचौर, महाराजगञ्ज, धापासी हुँदै बूढानीलकण्ठसम्म।
थप प्रस्ताव गरिएका नयाँ रुटहरू (४ वटा) :
-
गोदावरी – बूढानीलकण्ठ : ललितपुरको दक्षिणी भेग गोदावरी, हरिसिद्धि, सातदोबाटो, पाटन, थापाथली, रत्नपार्क, लैनचौर, महाराजगञ्ज हुँदै उत्तरी भेग बूढानीलकण्ठसम्म।
-
जगाती – ठमेल : भक्तपुरको पूर्वी नाका जगाती, सूर्यविनायक, थिमि, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, जमल हुँदै पर्यटकीय केन्द्र ठमेलसम्म।
-
कीर्तिपुर – नेपाल वायुसेवा निगम (रत्नपार्क) : कीर्तिपुर, नयाँ बजार, बल्खु, कालिमाटी, त्रिपुरेश्वर हुँदै न्यूरोड/रत्नपार्क (नेपाल वायुसेवा निगम) सम्म।
-
चक्रपथ (रिङरोड) दोहोरो सेवा : कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, सीतापाइला, बालाजु, बसपार्क, सामाखुसी, महाराजगञ्ज, चाबहिल र गौशाला जोड्ने गरी चक्रपथको दुवैतर्फ (Clockwise र Anti-clockwise) निरन्तर सेवा।
८ नगरपालिकाको संयुक्त सहकार्य
यो रात्रिकालीन यातायात सञ्जालमा उपत्यकाका ८ वटा प्रमुख नगरपालिकाहरू जोडिनेछन् :
१. काठमाडौँ महानगरपालिका
२. ललितपुर महानगरपालिका
३. बूढानीलकण्ठ नगरपालिका
४. चन्द्रागिरि नगरपालिका
५. सूर्यविनायक नगरपालिका
६. मध्यपुर थिमि नगरपालिका
७. गोदावरी नगरपालिका
८. कीर्तिपुर नगरपालिका
३ महिनामा ६७ हजार यात्रु लाभान्वित
गत २०८३ वैशाख १ गतेदेखि सुरु गरिएको परीक्षणकालीन सेवाका दौरान ३ महिनामा ६६ हजार ९५२ जना यात्रीले सेवा लिएका छन्। अध्ययन अनुसार राति ८ देखि ९ बजेको समयमा सबैभन्दा बढी (४१.५६ प्रतिशत) चाप रहने गरेको छ, जसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी मजदुरहरूको संख्या उल्लेख्य छ।
सुरक्षा र दिगोपनको व्यवस्था
रात्रिकालीन सेवामा महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षालाई प्राथमिकता दिँदै सबै बसहरूमा सीसीटीभी क्यामरा, जीपीएस ट्रयाकिङ र निश्चित 'डेडिकेटेड' बस स्टपहरू निर्माण गरिनेछ।
सेवा सञ्चालनमा हुने घाटा व्यवस्थापनका लागि ८ वटै नगरपालिकाले ५० प्रतिशत रकम बराबर र बाँकी ५० प्रतिशत भूगोल तथा जनघनत्वका आधारमा बेहोर्ने (Viability Gap Funding) मोडल अघि सारिएको छ। यसको दीर्घकालीन व्यवस्थापनका लागि ‘सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ मार्फत नियमन गर्न कार्यदलले सुझाव दिएको छ।