केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त ’क’, ’ख’ ’ग’ र ’घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो।
सूचना अनुसार, प्राकृतिक विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारको प्रयोजनका लागि मिति २०८३÷०५÷२३ गते अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था मिलाउन भनिएको छ। विपद्को समयमा आर्थिक कारोबार नरोकिओस् र प्रभावितहरूले समयमै राहत प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले यो कदम चालेको हो।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको सहयोगार्थ आर्थिक योगदान गर्नुका साथै राहत र उद्धार कार्यलाई सहज बनाउन बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगका लागि राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरू (करार समेत) ले एक करोड ३८ लाख ८९ हजार ४२५ रुपैयाँ संकलन गरेका छन्। उक्त रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गरिएको बैंकले जनाएको छ।