बाढीले जलविद्युत् आयोजना, सडक र भौतिक संरचनामा अर्बौँको क्षति पुर्याएपछि बीमा कम्पनीहरूले ठूलो दाबी भुक्तानी गर्नुपर्ने र यसले कम्पनीहरूको नाफा तथा पूँजी नै संकटमा पर्ने त्रासमा लगानीकर्ताहरूले निर्जीवन बीमा समूहका शेयरहरू अन्धाधुन्ध बिक्री (Panic Selling) गरिरहेका छन्। तर, बीमा क्षेत्रको छाता संस्था नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले शेयर बजारमा फैलिएको यो त्रास पूर्णतया ‘निराधार र अतिरञ्जित’ भएको बताएका छन्। दाबीको आकार ठूलो देखिए पनि पुनर्बीमा (Reinsurance) का कारण नेपाली बीमा कम्पनीहरूमाथि यसको भार निकै न्यून पर्ने भएकाले लगानीकर्ताहरूलाई नआत्तिन र धैर्य रहन उनले आग्रह गरेका छन्।
तथ्याङ्कमा पहिरो : डेढ महिनामै २ हजार अंकले घट्यो सूचक
नेप्सेको प्राविधिक चार्ट विश्लेषण गर्दा निर्जीवन बीमा उपसमूहमा बाढीपछि तीव्र गिरावट देखिएको छ।
-
गत साउन ५ गते (जुलाई २१) निर्जीवन बीमा उपसमूहको सूचक ११,०७५.८६ अंक को उच्च विन्दुमा थियो।
-
त्यहाँबाट सुस्त गतिमा घट्न थालेको यो सूचक भदौ १० गते बाढी आएकै दिन एकै झट्कामा ३.९१ प्रतिशतले घटेर ९,९३५.५९ अंक मा झर्यो।
-
त्यसयता पनि बजार सम्हालिन सकेको छैन। लगातारको बिक्री दबाबका कारण सूचक हाल ९,२६२.३१ अंक सम्म ओर्लिएको छ भने यस बीचमा ९,१११.२८ अंकको न्यून विन्दुसमेत परीक्षण गरिसकेको छ।
डेढ महिनाको अवधिमै झण्डै २ हजार अंक (करिब १६.५ प्रतिशत) को भारी गिरावटले बजारमा 'अब निर्जीवन बीमा कम्पनीहरूको अस्तित्व नै संकटमा पर्ने हो कि' भन्ने गलत मनोविज्ञान हाबी गराएको देखिन्छ।

"कम्पनीहरू डुब्दैनन्, खुद दायित्व निकै थोरै हुन्छ" : वीरेन्द्र वैदवार क्षेत्री
बजारमा फैलिएको त्रास र नकारात्मक हल्लालाई खण्डन गर्दै बीमक संघका अध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्षेत्रीले कम्पनीहरूको वित्तीय संरचना पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेका छन्। "शेयर बजारमा निर्जीवन बीमा कम्पनीहरू अब सकिए, यिनीहरूले लाभांश बाँड्न सक्दैनन् वा पूँजी नै स्वाहा हुन्छ भन्ने जसरी हल्ला फैलाइएको छ, त्यसमा कुनै सत्यता छैन," अध्यक्ष क्षेत्रीले भने, "लगानीकर्ताले कुल दाबी रकम (Gross Claim) र कम्पनीको खुद दायित्व (Net Retention) बीचको भिन्नता बुझ्न जरुरी छ। उदाहरणका लागि, कुनै कम्पनीमा ५ अर्ब रुपैयाँको विशाल दाबी पर्यो भन्दैमा २ अर्ब चुक्ता पूँजी भएको कम्पनी टाट पल्टिँदैन। कम्पनीले आफ्नो जोखिमको ठूलो हिस्सा स्वदेशी तथा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूमा सुरक्षित गरेको हुन्छ। एउटा कम्पनीमाथि बढीमा १० देखि १५ करोड वा २० करोड रुपैयाँसम्म मात्र प्रत्यक्ष भार पर्ने हो, बाँकी ९५ प्रतिशतभन्दा बढी भुक्तानी पुनर्बीमकले बेहोर्छन्।"
उनका अनुसार नेपाली निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पुनर्बीमा सम्झौता (Reinsurance Treaty) पहिले नै सम्पन्न गरिसकेकाले यस विपद्को सम्पूर्ण जोखिम अन्तर्राष्ट्रिय तथा स्वदेशी पुनर्बीमकहरूले नै वहन गर्नेछन्।
इतिहास साक्षी : भूकम्प र विगतका विपद्मा पनि जोगिएको साख
नेपाली निर्जीवन बीमा कम्पनीहरूको वित्तीय सबलता र जोखिम व्यवस्थापन क्षमता विगतका संकटहरूमा प्रमाणित भइसकेको तथ्यलाई लगानीकर्ताले बिर्सन नहुने क्षेत्रीको भनाइ छ।
-
२०७२ को भूकम्प : तत्कालीन समयमा निर्जीवन बीमा बजारको कुल आकार जम्मा २८ देखि ३० अर्ब रुपैयाँ मात्र थियो। तर, भूकम्पबाट सिर्जित १६ देखि १७ अर्ब रुपैयाँको विशाल दाबीमध्ये करिब १४ अर्ब रुपैयाँ कम्पनीहरूले सफलतापूर्वक फर्स्योट गरेर देखाए।
-
कोभिड–१९ महामारी : बीमा कम्पनीहरूले आफ्नो दायित्वअनुसार ६ देखि ७ अर्ब रुपैयाँ दाबी भुक्तानी गरे।
-
विगतका बाढीपहिरो : काठमाडौँ उपत्यका र पूर्वी नेपालमा आएका बाढीमा परेका १०–१२ अर्बका दाबी तथा गत वर्षको भदौ २३–२४ को बाढीबाट सिर्जित २३–२४ अर्बको लसमा पनि ८ अर्बभन्दा बढी भुक्तानी भइसकेको छ।
यी सबै संकटपछि पनि कुनै पनि नेपाली बीमा कम्पनी दाबी तिर्न नसकेर बन्द हुनुपरेको छैन। झन् हालका वर्षहरूमा मर्जरपछि कम्पनीहरूको चुक्ता पूँजी साढे २ अर्बभन्दा माथि पुगेको छ र जगेडा कोषहरू पनि निकै मजबुत छन्।
त्रास होइन, विवेकपूर्ण विश्लेषणको समय
पूँजी बजारका विश्लेषकहरूका अनुसार विपद्को समयमा बजारले तत्काल ‘ओभर–रियाक्ट’ (Overreact) गर्ने गर्छ। तर, यस्ता विपद्पछि समाज र व्यावसायिक क्षेत्रमा बीमाको आवश्यकता झनै तीव्र रूपमा महसुस हुने गर्दछ। फलस्वरूप, आगामी दिनहरूमा जलविद्युत्, पूर्वाधार, घर तथा सवारी साधनको बीमाको दायरा फराकिलो भई कम्पनीहरूको प्रिमियम संकलन र व्यवसायमा दीर्घकालीन वृद्धि हुने सम्भावना रहन्छ।
अध्यक्ष क्षेत्री भन्छन्, "विपद्मा बीमा क्षेत्रले आफ्नो कर्तव्य पूरा गर्छ। कम्पनीहरूको नाफामा सामान्य उतारचढाव देखिए पनि कम्पनीहरू नै धराशायी हुने अवस्था किमार्थ आउँदैन। त्यसैले हल्ला र त्रासका भरमा सस्तो मूल्यमा आफ्नो शेयर बेचेर लगानीकर्ताले नोक्सानी बेहोर्नु हुँदैन।"
प्राविधिक रूपमा पनि निर्जीवन बीमा उपसमूहको सूचक ९,१००–९,२५० को बलियो ‘सपोर्ट जोन’ नजिक आइपुगेको छ। यस संवेदनशील घडीमा त्रासका भरमा निर्णय लिनुभन्दा कम्पनीको पुनर्बीमा व्यवस्था, वित्तीय सन्तुलन र दीर्घकालीन प्रतिफललाई हेरेर विवेकपूर्ण लगानी रणनीति अपनाउनु नै लगानीकर्ताका लागि हितकर हुने देखिन्छ।