पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामवद्ध भएर पूजाआराधना गरिरहेका छन् । यसपटक भने विगतका वर्षको तुलनामा तीजको रौनक केही कम देखिएको भक्तजनहरूले बताएका छन् । देशका विभिन्न स्थानमा आएको बाढी तथा विपदबाट ठूलो जनधनको क्षति भएकाले उत्सवको माहौलमा समेत त्यसको प्रभाव परेको उनीहरूको भनाइ छ । पशुपति दर्शनका लागि आएकी सिर्जना गिरीले देशमा पछिल्लो समय भएका दुःखद् घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर पशुपतिनाथसँग प्रार्थना गरेको बताइन् । उनले तीज महिलाहरूका लागि विशेष पर्व भएको र परम्परादेखि नै श्रीमानकाे दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने चलन रहेको बताइन् ।

त्यस्तै, मीरा लोहनीले यसपटक पशुपतिनाथको दर्शन सहज भएको बताइन्। विगतमा लामो समय लाइन बस्नुपर्ने भएपनि यसपालि सहज रूपमा दर्शन गर्न पाएको उनको भनाइ छ ।
उनले भनिन्, ‘पशुपतिनाथले हामी सबैको रक्षा गरून् । सबै दिदीबहिनीहरू निराहार व्रत बसेर भगवान्को दर्शन गर्न पाउँदा खुशी लागेको छ ।’
कृष्णा बस्यालले भने देशमा विपद्का कारण तीजको खुशी मनमा नरहेको बताइन् । बाढीपहिरोका कारण घरबार गुमाएका, आफन्त तथा छोराछोरी हराएका परिवारको पीडाले आफूहरूलाई समेत दुःखी बनाएको उनले बताइन् । उनकाअनुसार विपद्का कारण यसपटक विगतको तुलनामा पशुपतिनाथमा भक्तजनको चाप पनि केही कम देखिएको छ ।
पशुपतिनाथ दर्शनका लागि आएकी अर्की एक भक्तजन निरु गिरीले तीज धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व भएकाले आधुनिकतासँगै आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताइन्। उनकाअनुसार अविवाहित महिलाले असल तथा सर्वगुण सम्पन्न जीवनसाथीको कामना गर्दै र विवाहित महिलाले श्रीमान तथा परिवारको स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दै तीजको व्रत बस्ने परम्परा छ ।
विमला न्यौपानेले पनि श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै आफू व्रत बसेर पशुपतिनाथ आएको बताइन् । उनले देशमा शान्ति कायम होस्, सबैको सुख, शान्ति र समृद्धि होस् तथा विपदमा परेकाहरूको शिघ्र उद्धार होस् भन्ने कामना गरिन् ।
संगीता केसीले तीजमा रातो पहिरन, सिन्दुर, टीका र पोते लगाउने परम्परा रहेको बताउँदै यसपटक भने बाढीपीडितको पीडाका कारण विगतजस्तो रमाइलो वातावरण नरहेको बताइन् ।
उनले भनिन्, ‘पहिला धेरै रमाइलो हुन्थ्यो। यसपालि देशमा संकटजस्तो अवस्था भएकाले त्यति रमाइलो छैन। हामीले परम्परा र नियमलाई निरन्तरता दिएका छौँ, तर खुशी र उत्साह भने विगतजस्तो छैन ।’
अर्की भक्तजन कल्पना नेपाल भट्टराईले आफ्नो संस्कृतिलाई सधैँ जोगाउनुपर्ने बताइन् । आधुनिकतिर जति लागे पनि कला र संस्कृति, धरोहर, सम्पत्ति भएकाले जोगाइरहनुपर्ने बताइन् । यस वर्ष तीजमा पशुपतिनाथमा दर्शन गर्न सहज रहेको बताइन्।
भक्तजनहरूले यसपटक तीजको व्रत तथा पूजाआराधनासँगै बाढी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन् । देशका विभिन्न स्थानमा बाढी तथा अन्य विपद्को पीडा कायम रहे पनि तीजको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै महिलाहरू बिहानैदेखि शिवालयमा पुगेर पूजाआराधना गरिरहेका छन् ।