बालबालिकामा गरिने लगानी नै राष्ट्रको सुखद भविष्यको आधार: प्रधानमन्त्री शाह

Sep 14, 2026 12:05 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन्।

‘बालपनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ मनाउन लागिएको राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि नै लगानी भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा सुख, सुस्वास्थ्य, सुरक्षित बालपन, उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। साथै, बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार जगत् तथा सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।

सन्देशमा नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि (सीआरसी), १९८९ लाई सन् १९९० मा अनुमोदन गरी अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको स्मरण गरिएको छ। नेपालको संविधानको धारा ३९, राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाका मौलिक हक तथा कानुनी अधिकार सुनिश्चित गरेको उनले उल्लेख गरेका छन्।

अबको मुख्य प्राथमिकता संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु रहेको सन्देशमा उल्लेख छ। यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको प्रधानमन्त्रीले बताएका छन्।

सङ्घले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधारलाई सुदृढ बनाउने, प्रदेशले समन्वय र सेवा विस्तार गर्ने तथा स्थानीय तहले सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।