रसुवाको बाढीमा जलविद्युत् आयोजनाका अझै ९०९ जना सम्पर्कविहीन, कुनमा कति क्षति ?

Sep 14, 2026 01:46 PM Merolagani



भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवाका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ।

 

उपलब्ध विवरणअनुसार बाढीबाट ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन्। ११ वटा आयोजनामा गरी ९०९ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढीबाट रसुवागढी, माथिल्लो त्रिशूली–१, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोलालगायतका आयोजना प्रभावित भएका छन्। तीमध्ये माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) र रसुवागढी (१११ मेगावाट) आयोजनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

माथिल्लो त्रिशूली–१ आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए। हालसम्म ८७८ जनाको उद्धार गरिएको र १० जनाको शव भेटिएको कम्पनीले जनाएको छ। हराइरहेकाको खोजी तथा उद्धारका लागि सुरुङभित्र जमेको लेदो हटाउने काम जारी छ।

आयोजनामा हराइरहेकामध्ये ९ जना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहमा फसेकाहरूको खोजी तथा उद्धारका लागि पहुँच सुरुङ सफा गर्ने काम भइरहेको छ। मेसिन प्रयोग गरी एक दिनमा ७० मिटर सुरुङ सफा गरिएको र फसेका कामदारसम्म पुग्न अझै करिब तीन दिन लाग्ने कम्पनीले जनाएको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा पनि हराइरहेकाको खोजीका लागि आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन जारी छ। तीन वटा ठूला मेसिन प्रयोग गरी खोजी तीव्र पारिएको छ। उक्त आयोजनाबाट मात्रै १७८ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढीबाट पूर्णरूपमा प्रभावित आयोजनाबाहेक त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली, मिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजनासमेत प्रभावित भएका छन्। यी आयोजनामा गरी १७५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।