मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन’, २ हजारभन्दा बढी अतिथि सहभागी हुँदै

Sep 15, 2026 01:36 PM Merolagani



जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर र त्यसका समाधानबारे छलफल गर्न मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ सुरु हुँदैछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम छ।

सम्मेलनमा सहभागी हुन सातै प्रदेशका ४ सय २१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित २ हजारभन्दा बढी अतिथि सोमबार साँझसम्म मुस्ताङ आइपुगेका छन्। सहभागी तथा अतिथिका लागि स्थानीय होटलमा बसोबासको व्यवस्था गरिएको घरपझोङ गाउँपालिकाले जनाएको छ।

सम्मेलन व्यवस्थापनका लागि गाउँपालिकाका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई परिचालन गरिएको छ। सम्मेलनस्थलमै बिहानको खाजा, खाना र दिउँसोको खाजाको व्यवस्था आमा समूहले गर्नेछन् भने बेलुकाको खाना र बसोबासका लागि गाउँपालिकाले तोकेका होटलमा व्यवस्था मिलाइएको छ।

सम्मेलनलाई लक्षित गरी गाउँपालिकाका सडक तथा बस्तीलाई स्थानीय मौलिक कला र संस्कृतिसहितका ध्वजापताकाले सजाइएको छ। मुख्य तथा भित्री सडकमा सडकबत्ती जडान गरिएको छ भने अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ।

आगन्तुकलाई खानेपानी, इन्टरनेट, विद्युत् तथा यातायातमा समस्या नहोस् भनेर आवश्यक पूर्वतयारी गरिएको गाउँपालिकाले जनाएको छ। सवारी पार्किङ र ट्राफिक व्यवस्थापनलाई समेत व्यवस्थित गरिएको छ।

जोमसोम कभर्डहलमा आयोजना हुने सम्मेलनका लागि स्टेज, साउन्ड सिस्टम, ब्यानरलगायत आवश्यक संरचना तयार गरिएको छ। सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने उद्देश्यले २८ फिट अग्लो ‘पृथ्वी रोइरहेको’ आकृतिको बेलुनसमेत राखिएको छ।

मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रचार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलनस्थलमा ५० भन्दा बढी कृषि तथा स्थानीय उत्पादनका स्टलसमेत राखिएका छन्।

दुई दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली तथा स्थानीय क्षेत्रमा देखिएका असर, अनुकूलनका उपाय र स्थानीय तहको भूमिकाबारे छलफल हुने बताइएको छ। सम्मेलनको अन्त्यमा जलवायु परिवर्तनका विषयमा साझा प्रतिबद्धतासहितको घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।