तर, के कुनै अर्बपति गरिबीको पीडा थाहा पाउनको लागि आफै भिखारी बन्न सक्छ ? यो आफैमा असम्भव जस्तै लाग्ने प्रश्न हो । तर, भारतको औद्योगिक शहरका मुम्बईका अर्बपति उद्यमी तथा सत्तारुढ भाजपाका एक नेताले त्यस्तै आश्चर्यलाग्दो काम गरेका छन् ।
केही दिन अघि भाजपा विधायक पराग शाह घाटकोपरका सडकमा भने फाटेका–पुराना कपडा लगाएर भिखारीको रूपमा मानिसहरूसँग पैसा मागिरहेका थिए। अझ अचम्मको कुरा, उनी सामान्य भिखारीझैँ सडकमा बसेर सहयोग माग्नुका साथै झाडु लगाउने कामसमेत गरिरहेका थिए।
उनको अवस्था देख्दा कसैले पनि उनी अर्बपति उद्यमी र सांसद हुन् भनेर कल्पनासमेत गरेन । शाहले विहानैदेखि साँझसम्म मगन्तेकोरुपमा मुम्बईका सडकहरुमा भिख मागेर बिताए । उनलाई कसैले पनि चिनेन ।
मानिसले उसको हैसियत थाहा नपाउँदा कसरी व्यवहार गर्छन् भन्ने प्रत्यक्ष अनुभव गर्नु पनि यसको एउटा उद्देश्य थियो। भिखारीको भेषमा उनले मानिसबाट दया पाए, कसैले बेवास्ता गरे, कसैले शंकाको दृष्टिले हेरे र कसैले सहयोग गरे। रिपोर्टहरूका अनुसार सडकमा उनले गर्मी, शारीरिक थकान र मानिसहरूको फरक–फरक व्यवहार पनि अनुभव गरे।
भिखारी बन्नुको कारण आध्यात्मिक अभ्यास र आफूलाई आम मानिसको जीवनसँग प्रत्यक्ष रूपमा जोड्ने एउटा प्रयोग भएको शाहले बताएका छन्। त्यो एक दिनको घटनाले आफ्नो जीवनको परिभाषा नै बदलिएको दावी छ । गरिब हुनुको पीडा नबुझेसम्म गरिबको लागि काम गर्न सकिदैन भन्ने सोंचसहित त्यस्तो काम गरेको उनले बताएका छन् । साथै अब उनले भारतमा गरिबको पक्षमा काम गर्नको लागि शसक्तरुपमा लागि पर्ने उनले बताएका छन् ।
स्मरण रहोस् शाहको मुख्य व्यवसाय घरजग्गा क्षेत्रसँग जोडिएको छ। उनी म्यान इन्फ्राकन्स्ट्रक्सन लिमिटेडसँग सम्बन्धित व्यवसायी पनि हुन् र मुम्बई तथा आसपासका क्षेत्रमा उनको ठूलो घरजग्गा कारोबार रहेको समाचारमा उल्लेख छ। शाह महाराष्ट्रका सबैभन्दा धनी विधायकमध्ये एक हुन्। उनको कूल सम्पत्ति ५० अर्ब भारतीय रुपैँया (नेपाली रुपैँया ८० अर्ब) रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।