कार्यालयले बुधबार जारी गरेको सूचनामा ई–जीपी प्रणालीमा सुरक्षा जोखिम उच्च देखिएपछि तत्कालका लागि प्रणाली स्थगन गरिएको जनाएको छ। प्रणालीको मर्मत तथा सुधार गरी यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको कार्यालयले जनाएको छ।
ई–जीपी प्रणाली पुनः सञ्चालनमा नआएसम्म सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) बमोजिम बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था गर्न भनिएको छ।
त्यसअनुसार बोलपत्रदाताले बोलपत्र हुलाक, स्वयं उपस्थित भएर वा कुरियरमार्फत सम्बन्धित कार्यालयमा बुझाउन सक्नेछन्। बोलपत्र आह्वानसम्बन्धी कागजातमा पनि सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन कार्यालयले सार्वजनिक निकायलाई आग्रह गरेको छ।
कार्यालयका अनुसार हुलाकमार्फत प्राप्त हुने बोलपत्र कागजातसमेत कानुनबमोजिम तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा दाखिला हुने व्यवस्था मिलाउनुपर्नेछ।
ई–जीपी प्रणालीमा देखिएको समस्या समाधान नभएसम्मका लागि यो वैकल्पिक व्यवस्था लागू हुने कार्यालयले जनाएको छ।