नेपालीले बनाएको एआई टुल विदेशी बजारमा पनि प्रयोग हुने

Sep 17, 2026 03:02 PM Merolagani



नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको एआईमा आधारित मार्केटिङ टुल विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भेन्चर्सले एकीकृत मार्केटिङ प्लेटफर्म विकास गरेको छ।

फिक्रा भेन्चर्सले विकास गरेको उक्त प्लेटफर्ममा भिडियो निर्माणदेखि सामाजिक सञ्जालमा सामग्री प्रकाशन, डिजिटल विज्ञापन सञ्चालन, विज्ञापनको प्रभाव मापन तथा उपभोक्ताको प्रतिक्रिया विश्लेषणसम्मका सुविधा एकै प्रणालीमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

विशेषगरी साना तथा मझौला व्यवसायलाई लक्षित गरी प्लेटफर्म विकास गरिएको हो। कम्पनीका अनुसार यसले व्यवसायलाई एउटै प्रणालीमार्फत मार्केटिङ सामग्री तयार गर्न, सामाजिक सञ्जालमा प्रकाशन गर्न, विज्ञापन सञ्चालन गर्न र त्यसबाट प्राप्त परिणाम तथा प्रतिक्रियाका आधारमा थप सामग्री तयार गर्न सहयोग गर्नेछ।

विचारबाट व्यावसायिक भिडियोसम्म

फिक्रा भेन्चर्सको एआई भिडियो निर्माण प्लेटफर्म ‘फिक्राजेन’ ले सामान्य विचारबाट व्यावसायिक भिडियो तयार गर्न सहयोग गर्नेछ। प्रयोगकर्ताले स्क्रिप्ट र भ्वाइसओभर स्वीकृत गरेपछि भिडियो निर्माण गर्न सक्नेछन्।

कम्पनीका अनुसार परम्परागत टेम्प्लेटमा आधारित भिडियो टुलभन्दा फरक रूपमा रूपमा HTML, CSS, JavaScript, GSAP र Three.js जस्ता वेब प्रविधिको प्रयोग गरी व्यक्तिगत डिजाइन तथा एनिमेसन निर्माण गर्न सकिनेछ।

फिक्राजेनमा ब्रान्ड किट, बहुभाषिक भ्वाइसओभर, व्यक्तिगत आवाजको क्लोनिङ, वेबसाइट क्याप्चर, क्याप्सन तथा विभिन्न स्क्रिन आकारअनुसार भिडियो निर्माण गर्ने सुविधा समावेश छन्। यस्तै, दृश्यस्तरको सम्पादन तथा आंशिक पुनःनिर्माणका सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

विज्ञापन, सफ्टवेयर लन्च, उत्पादन प्रदर्शन तथा स्टोरीबोर्ड निर्माणका लागि समेत विशेष कार्यप्रवाह विकास गरिएको छ।

सामाजिक सञ्जालदेखि विज्ञापन व्यवस्थापनसम्म

फिक्रा भेन्चर्सले ‘फिक्रासोसल’ नामक प्रणालीमार्फत सामाजिक सञ्जाल अकाउन्ट जोड्ने, सामग्री प्रकाशन तथा समय निर्धारण गर्ने र कमेन्ट, सन्देश तथा प्रतिक्रियाको विश्लेषण गर्ने सुविधा विकास गरेको छ।

एआईको सहयोगमा दर्शकको भावना, उद्देश्य र दोहोरिने विषय पहिचान गर्न सहज हुने कम्पनीको भनाइ छ।

डिजिटल विज्ञापनतर्फ लक्षित ग्राहकसम्म विज्ञापन पुर्‍याउने, विज्ञापनबाट आएका ग्राहक तथा बिक्रीको मापन गर्ने, लगानीअनुसारको प्रतिफल विश्लेषण गर्ने र विभिन्न विज्ञापन सामग्रीको तुलनात्मक परीक्षण गर्ने सुविधा विकास गर्ने योजना कम्पनीको छ।

त्यस्तै, प्रभावकारी देखिएका विज्ञापन सामग्रीलाई थप सुधार गर्ने र विस्तृत कार्यसम्पादन रिपोर्ट उपलब्ध गराउने सुविधा पनि विकास गरिने बताइएको छ।

नेपाली प्रविधिलाई विश्व बजारमा पुर्‍याउने लक्ष्य

फिक्रा भेन्चर्सले नेपालमा विकास भएको प्रविधिलाई नेपाली व्यवसायमा मात्र सीमित नराखी विदेशी व्यवसायसम्म पुर्‍याउने लक्ष्य लिएको छ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै एआईमा आधारित मार्केटिङ प्लेटफर्म विकास गरेको जनाएको छ। अरबीसहित प्रमुख अन्तर्राष्ट्रिय भाषामा सामग्री निर्माण तथा भ्वाइसओभरको सुविधा विकास गर्ने योजना रहेकाले अंग्रेजीबाहेकका बजारमा समेत प्लेटफर्म प्रयोग गर्न सकिने कम्पनीको विश्वास छ।

फिक्रा भेन्चर्सका अनुसार यसको अवधारणा एआईको प्रयोग गरेर भिडियो बनाउनेमा मात्र सीमित छैन। तयार गरिएको सामग्रीको प्रभाव बुझ्ने, उपभोक्ताको प्रतिक्रिया विश्लेषण गर्ने र सोही प्रतिक्रियाका आधारमा अर्को सामग्रीलाई थप प्रभावकारी बनाउने निरन्तर प्रक्रियालाई प्लेटफर्मले जोड्ने लक्ष्य राखेको छ।

सिर्जनात्मक विचारदेखि मापनयोग्य व्यावसायिक परिणामसम्म सामग्रीको सम्पूर्ण जीवनचक्रलाई एउटै अकाउन्ट, एउटै कार्यप्रवाह र एउटै व्यावसायिक प्रणालीमा जोड्ने लक्ष्य कम्पनीले लिएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।