नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका वलीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नगद रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार वलीले छुट जग्गा दर्ताका लागि आवश्यक सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय मनमैजु, काठमाडौंमा पठाउने प्रक्रियामा सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा सास्ती दिएको आरोप छ ।
सोही क्रममा उनले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो । अख्तियारका अनुसार वलीलाई काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट ९ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो ।
उनलाई बुधबार पक्राउ गरिएको र अनुसन्धानका लागि बिहीबार विशेष अदालत, काठमाडौंमा उपस्थित गराइएको अख्तियारले जनाएको छ । विशेष अदालतबाट वलीलाई अनुसन्धानका लागि म्याद थप भएको अख्तियारले जानकारी दिएको छ ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । आयोगका अनुसार अनुसन्धानबाट प्राप्त तथ्य तथा प्रमाणका आधारमा कानुनबमोजिम थप प्रक्रिया अघि बढाइनेछ ।