निर्माण सुरु भएको १५ वर्षपछि कमला नदी पुल अब सञ्चालनको अन्तिम चरणमा

Sep 18, 2026 03:01 PM Merolagani



निर्माण सुरु भएको १५ वर्षसम्म पनि पूर्णता पाउन नसकेको हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवाद तथा पुलको पिलर भाँचिएपछि लामो समयदेखि रुग्ण अवस्थामा रहेको आयोजनाको मुख्य निर्माण कार्य लगभग सम्पन्न भएको पूर्वाधार मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशको ‘मेरुदण्ड’ मानिने हुलाकी राजमार्गमा पर्ने यो पुल निर्माण सम्पन्न भएपछि धनुषा र सिराहाबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । मन्त्रालयका अनुसार पुलमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भइसकेको छ भने सब–स्ट्रक्चरको ढलानसमेत सकिएको छ ।

पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम पनि सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अहिले पुलको सुपर स्ट्रक्चरमा स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको छ ।

नदीमा पानीको सतह घटेपछि आगामी हप्ताबाट बाँकी ढलानको काम अघि बढाउने तयारी छ । पानीको सतह कम भएपछि निर्माणका लागि आवश्यक काम सहज हुने भएकाले त्यसपछि पुलको बाँकी संरचनासमेत पूरा गर्ने मन्त्रालयको योजना छ ।

पुलको पहुँच सडक निर्माणमा भने वर्षाका कारण समस्या देखिएको छ । धनुषातर्फ पुलसम्म पुग्ने सडकका लागि भरिएको माटो वर्षाको पानीले बगाएपछि केही क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिने मन्त्रालयले जनाएको छ ।

सिराहातर्फ भने पुलको पहुँच सडकमा माटो भर्ने काम सम्पन्न भइसकेको छ । धनुषातर्फको पहुँच सडकसमेत सुधार गरी पुललाई दुवैतर्फबाट सहज रूपमा सञ्चालन गर्न मिल्ने बनाउने तयारी भइरहेको छ ।

मन्त्रालयले अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । त्यसका लागि बाँकी संरचनाको निर्माण, पहुँच सडकको सुधार तथा आवश्यक प्राविधिक कामलाई तीव्रता दिइने जनाएको छ ।

कमला नदीमा पुल नहुँदा हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारणले लामो समयदेखि समस्या भोग्दै आएका छन् । पुल सञ्चालनमा आएपछि धनुषा–सिराहा आवागमनसँगै मधेशका विभिन्न जिल्लाबीचको यातायात सम्पर्कसमेत थप सहज हुने अपेक्षा गरिएको छ ।

कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु–लुम्बिनी जेभीले पाएको थियो । निर्माणको काम अघि बढ्दै गर्दा २०७८ साल असारमा उद्घाटनको तयारी भइरहेका बेला पुलको पिलर भाँचिएपछि यसको निर्माण प्रक्रिया थप जटिल बनेको थियो ।

पिलर भाँचिएपछि ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादसमेत जोडिएपछि आयोजना लामो समय रुग्ण अवस्थामा रह्यो । लामो समयको अवरोध र विवादपछि अहिले पुनः निर्माणले गति लिएको हो । मन्त्रालयले बाँकी काम पूरा गरी निर्धारित समयभित्र पुल सञ्चालनमा ल्याउने दाबी गरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।