पौडेलका अनुसार नेपालमा कर्जा प्रवाहको ६७ प्रतिशत हिस्सा सम्पत्ति धितोमा आधारित छ । यसले बैंक तथा वित्तीय संस्थालाई परियोजनाको संभाव्यता तथा जोखिम मूल्यांकनमा आधारित कर्जा प्रवाह गर्न निरुत्साहित गरेको उनले बताए ।
बैंकहरूलाई नवीन र जोखिम मूल्यांकनमा आधारित कर्जा प्रवाहका लागि सक्षम बनाउनुपर्नेमा उनको भनाइ छ । बैंकहरुले हाल कर्जा विस्तार र असुली दुवै गर्न नसकेको उनले बताए । कर्जा असुलीमा समस्या हुने डरले बैंक तथा वित्तीय संस्थाहरूले साना कर्जा प्रवाह गर्न नचाहेको उनले बताए ।
स्थानीय तहबाट चार किल्ला प्रमाणित गर्न नदिने, सूचना तथा नोटिस जारी गर्ने लगायतका प्रक्रियामा विभिन्न निकायबाट पर्याप्त सहयोग नहुने अवस्थाले पनि कर्जा असुलीमा समस्या रहेको उनको भनाइ छ । 'अहिले साना कर्जाहरू लिएपछि तिर्नुपर्दैन भन्ने खालको एउटा भाष्य बनाउन खोजिएको छ । विभिन्न खालका समूह, केही राजनीतिक आवरणमा पनि त्यसलाई ढाकछोप गरिदिने, त्यसलाई प्रमोट गरिदिने खालका गतिविधिहरू हुने गर्छन् । त्यसले पनि समस्या सिर्जना गरेको छ,' उनले भने ।
नेपालको बैंकिङ क्षेत्रको वित्तीय अवस्था भने तुलनात्मक रूपमा बलियो रहेको उनको दाबी छ ।