आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, प्रसारणलाइनअन्तर्गत जिल्लामा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्ने स्वीकृति प्रदान गरेको हो । यससँगै प्रसारणलाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ ।
प्रसारणलाइन क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा ६र६ वटा सामुदायिक वन रहेका छन् । चितवनतर्फ भने रुख कटानको जारी रहेको आयोजना प्रमुख भण्डारीले बताए ।
दमौली–भरतपुर २२० केभी प्रसारणलाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ टावर निर्माण गर्नुपर्नेछ । निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले हालसम्म ८३ वटा टावरको जग हाल्ने तथा ७८ वटा टावर जडान गर्ने कार्य सम्पन्न गरेको छ ।
आयोजना प्रमुख भण्डारीका अनुसार, प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ । रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारणलाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ ।
आयोजनाको तीन प्याकेजमा काम भइरहेको छ । प्याकेज एक बाँधलगायत संरचना निर्माणका लागि सोङ्दा कालिका जेभीमार्फत् काम भइरहेको छ । यो प्याकेजमा ६३ प्रतिशत प्रगति रहेको छ ।
आयोजनाको प्याकेज दुई विद्युतगृह तथा सम्बन्धित उपकरणहरूमा सिनो हाइड्रो कर्पोरेसनले चीनले काम गरिरहेको छ । यो प्याकेजमा ७९ प्रतिशत प्रगति रहेको छ । आयोजनाको समग्र प्रगति भने ७८ प्रतिशत रहेको जनाइएको छ ।