विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएपछि त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो।
विद्युत् तथा इन्टरनेट सेवामा अचानक अवरोध सिर्जना भएपछि विभागको मुख्य सर्भर तथा प्राविधिक प्रणाली सञ्चालन हुन नसकेको विभागले जनाएको छ। यसका कारण राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको छ।
छपाइ प्रक्रिया प्रभावित भएपछि तयार भइसकेका तथा बन्ने क्रममा रहेका राहदानी समयमै सेवाग्राहीलाई वितरण गर्न कठिनाइ भएको विभागले जनाएको छ।
विभागले सोमबार सूचना जारी गर्दै छपाइ तथा वितरण कार्यमा प्राविधिक अड्चन आए पनि नयाँ राहदानीका लागि आवश्यक आवेदन सङ्कलन प्रक्रिया भने पूर्ववत् रूपमा नियमित सञ्चालन भइरहेको स्पष्ट पारेको छ।
विभागका अनुसार अवरुद्ध विद्युत् तथा इन्टरनेट सेवा पुनः सञ्चालनका लागि मर्मत तथा पुनर्स्थापनाको काम तीव्र गतिमा भइरहेको छ। सेवा पुनः नियमित भएपछि राहदानी छपाइ तथा वितरण कार्य पनि सामान्य अवस्थामा फर्काइने विभागले जनाएको छ।