धनगढीमा एभरेष्ट बैंकको १३४औँ शाखा सञ्चालनमा

Sep 22, 2026 11:30 AM Merolagani



एभरेष्ट बैंक लिमिटेड (@EBL@) ले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नं. ८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त स्थानमा नयाँ भवन निर्माण गरी आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत स्थानान्तरण गरेको छ। अब सोही भवनबाट सम्पूर्ण बैंकिङ सेवाहरू प्रवाह हुनेछन्। यस नयाँ शाखासँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकको कुल शाखा संख्या १५ पुगेको छ।

उक्त नयाँ शाखा तथा भवनको उद्घाटन धनगढी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका वडा नं। ८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापना भएसँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ चलायमान हुने र समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।