भारी वर्षापछि देशका मुख्य ६ राजमार्ग अवरुद्ध

Sep 25, 2026 11:51 AM Merolagani



लगातारको वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेपछि देशका ६ ठूला मुख्य राजमार्ग तथा भित्री सडक अवरुद्ध भएका छन् ।

सडक अवरोधका कारण कतिपय जिल्लामा यातायात पूर्णरूपमा बन्द गरिएको छ भने जोखिमयुक्त क्षेत्रमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

सडक विभाग तथा सम्बन्धित निकायको विवरणअनुसार ललितपुरको कान्तिलोकपथ पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका–३ अन्तर्गतको क्षेत्रमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो ।

सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहित जिल्लाभित्रका अन्य भित्री सडकमा बाढी तथा पहिरोको जोखिम बढेको छ । भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै असोज १० गतेदेखि १२ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदल यात्रुको रात्रीकालीन आवतजावतमा पूर्ण रोक लगाइएको विवरणमा उल्लेख छ ।

त्यस्तै, पाँचथरको तुम्बेवा गाउँपालिका–२, नावाखोलामा बाढीका कारण तमोर–कोरिडोर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले सडकमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन प्रभावित भएको हो ।

भोजपुरमा पनि मध्यपहाडी लोकमार्गलगायत जिल्लाका सम्पूर्ण भित्री सडकमा जोखिम बढेको छ । सम्भावित क्षति रोकथामका लागि रातिको समयमा यातायात सञ्चालनमा कडाइ गरिएको छ । अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीसाधनलाई भने नजिकको प्रहरी इकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

इलाममा मेची राजमार्ग, मेची कोरिडोरलगायत जिल्लाका विभिन्न सडकमा बाढी तथा पहिरोको जोखिम बढेको छ । जोखिमलाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा पनि बाढीका कारण सिद्धिचरण लोकमार्ग प्रभावित भएको छ । उक्त क्षेत्रमा सडक अवरोध भएपछि यातायात सञ्चालनमा समस्या देखिएको छ ।

यस्तै, बागमती प्रदेशअन्तर्गत काभ्रेमा पनि बाढी तथा पहिरोको जोखिमका कारण बीपी राजमार्गका विभिन्न खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ । विवरणअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको छ । रोशी गाउँपालिका–७ कित्तेबेसी क्षेत्रमा पहिरोका कारण बीपी राजमार्गसमेत प्रभावित भएको छ ।

सम्बन्धित निकायले वर्षा अझै हुनसक्ने भएकाले जोखिमयुक्त सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अत्यावश्यकबाहेक लामो दूरी र रातिको यात्रा नगर्न आग्रह गरेका छन् । बाढी, पहिरो र सडक कटानका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले यात्रुले सावधानी अपनाउनुपर्ने देखिएको छ ।