रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 08, 2026 06:44 AM Merolagani



असोज २२ गते, बिहीबार, रिज लाइन इनर्जी (RLEL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात असोज २३ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले कात्तिक १७ गते, मंगलबार, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १ स्थित कुपण्डोल ब्याङक्वेट, प्राइभेट लिमिटेडमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशतका दरले हुन आउने १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने, १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।