पर्यटकीय स्थल शैलुङ यात्रा : ग्रामीण अर्थतन्त्र बुझ्ने अवसर

Oct 20, 2026 10:54 AM Merolagani



असोजकाे अन्तिम साता काठमाडौँबाट मेरो लगानी टिमका १४ जना सहकर्मीसहित शैलुङको स्थलगत भ्रमणमा निस्कँदा हाम्रो उद्देश्य प्राकृतिक सौन्दर्यको अवलोकन गर्नु र केही समय प्रकृतिसँग रमाउनु थियो।

तर, शैलुङ पुगेर फर्कंदासम्म यो यात्रा घुमफिरमा मात्र सीमित रहेन। त्यहाँको स्थानीय उत्पादन, वस्तुको मूल्य, चौँरीपालन, घोडसवारी र पर्यटकलाई लक्षित आर्थिक गतिविधिले शैलुङको ग्रामीण अर्थतन्त्र बुझ्ने अवसरसमेत दियो।

समुद्री सतहबाट करिब ३ हजार ३०० मिटरको उचाइमा रहेको शैलुङ प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्त्व र पर्यटन सम्भावनाले भरिएको गन्तव्य हो। यहाँका सय थुम्का, हरियालीले ढाकिएका डाँडाकाँडा र मौसम खुलेका बेला देखिने हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्छन्। तर, शैलुङको महत्त्व प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन। स्थानीय उत्पादनको बजारीकरण, पर्यटनबाट हुने आम्दानी र ग्रामीण उत्पादनलाई प्राथमिकता दिने अभ्यासले यहाँको अर्थतन्त्रलाई थप बलियो बनाउन सक्ने सम्भावना देखिन्छ।

चौँरीको घिउ र दूध : स्थानीय उत्पादनको पहिचान

शैलुङ भ्रमणका क्रममा हामीले चौँरीको दूध चाख्ने अवसर पायौँ। स्वादिलो दूधसँगै चौँरीपालनबाट उत्पादित घिउ पनि स्थानीय उत्पादनको आकर्षक वस्तुका रूपमा देखियो। फर्कने क्रममा हामीले चौँरीको घिउसमेत किनेर काठमाडौँ ल्यायौँ।

 

स्थलगत भ्रमणका क्रममा प्राप्त मूल्य विवरणअनुसार चौँरीको घिउको एक बट्टाको मूल्य १ हजारदेखि १ हजार १०० रुपैयाँसम्म रहेछ। चौँरीको दूध एक गिलासको १०० रुपैयाँ र चौँरीको दूध हालेको एक कप चियाको मूल्य ५० रुपैयाँ रहेछ।

यी मूल्यले स्थानीय उत्पादनप्रति पर्यटकको चासो र त्यसबाट सिर्जना हुन सक्ने आम्दानीको सम्भावना देखाउँछन्। चौँरीपालन ग्रामीण जीवनशैलीको एउटा महत्त्वपूर्ण हिस्सा हुनुका साथै स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने माध्यम पनि बन्न सक्छ।

स्थानीय स्तरमै उत्पादन हुने दूध र घिउलाई व्यवस्थित रूपमा सङ्कलन, प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्न सके उत्पादकले आफ्नो उत्पादनको उचित मूल्य पाउन सक्छन्। त्यसका साथै शैलुङको नामसँग जोडिएको स्थानीय उत्पादनको पहिचानसमेत स्थापित गर्न सकिन्छ।

सागसब्जी र आलुको मूल्य : स्थानीय बजारको अर्थचित्र

शैलुङको स्थानीय अर्थतन्त्र बुझ्न त्यहाँ पाइने कृषि उत्पादनको मूल्य पनि उत्तिकै महत्त्वपूर्ण देखियो। भ्रमणका क्रममा सङ्कलन गरिएको मूल्य विवरणअनुसार स्थानीय साग प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको थियो। काठमाडौँमा सोही प्रकारको सागको मूल्य प्रतिकिलो १७० रुपैयाँसम्म पर्ने गरेकाे थियो। त्यस्तै, शैलुङमा आलु प्रतिकिलो १२० रुपैयाँ र काठमाडौँमा प्रतिकिलो १७० रुपैयाँ मूल्य रहेको थियाे।

यी मूल्यलाई तुलना गर्दा स्थानीय उत्पादन र उपभोक्ता बजारबीचको मूल्य अन्तर स्पष्ट हुन्छ। तर, काठमाडौँको मूल्य बढी हुनुको कारण ढुवानी खर्च, बिचौलियाको भूमिका, भण्डारण, बिक्रीस्थलको लागतले थप हुने गरेकाे छ।

स्थानीय उत्पादन स्थानीय बजारमै खपत हुँदा ढुवानी खर्च घट्न सक्छ र उत्पादक तथा उपभोक्ताबीच प्रत्यक्ष कारोबारको अवसर बढ्न सक्छ। अर्कोतर्फ, काठमाडौँजस्ता ठूला बजारमा उत्पादन पुर्‍याउन सके किसानले बढी बजार पाउन सक्छन्। त्यसका लागि सङ्कलन केन्द्र, यातायात, भण्डारण र बजारसँगको प्रत्यक्ष सम्बन्ध महत्त्वपूर्ण हुन्छ।

पर्यटनसँग जोडिएको स्थानीय आम्दानी

शैलुङमा प्राकृतिक सौन्दर्य अवलोकनसँगै घोडसवारी पनि पर्यटकका लागि आकर्षणको विषय बनेको छ। भ्रमणका क्रममा घोडा चढेको शुल्क १०० रुपैयाँ लिने गरेका रहेछन्। त्यसैगरी, घोडा चढेर तलबाट माथि र माथिबाट तल आवतजावत गर्न १ हजार ५०० रुपैयाँ खर्च हुने गरेकाे छ।

यस्ता गतिविधिले पर्यटनलाई स्थानीय आम्दानीसँग जोड्ने सम्भावना देखाउँछन्। पर्यटकको आवागमन बढ्दा घोडसवारी गराउने व्यक्ति, होटल तथा लज सञ्चालक, स्थानीय खाद्यवस्तु बेच्ने व्यवसायी र कृषि उत्पादन गर्ने किसानले प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिन सक्छन्।

हामीले शैलुङ पुग्न प्रयोग गरेको विद्युतीय गाडी वर्षाका कारण चिप्लो र उकालो बाटोमा अघि बढ्न नसक्दा बीच बाटोमै समस्या भोग्नुपर्‍यो। अन्ततः मुला बोकेको अर्को गाडीको सहारा लिएर होटलसम्म पुग्यौँ। यात्राका क्रममा भोगिएको यो कठिनाइले शैलुङको पर्यटन विकासमा सडकको अवस्था, यातायातको विश्वसनीयता र पूर्वाधारको महत्त्व पनि सम्झायो।

पर्यटकलाई आकर्षित गर्न प्राकृतिक सौन्दर्य मात्र पर्याप्त हुँदैन। सहज यातायात, सुरक्षित पदमार्ग, भरपर्दो आवास, स्वच्छ खानेपानी र स्पष्ट मूल्यसूची पनि आवश्यक हुन्छन्। यी सुविधा व्यवस्थित भए पर्यटकको बसाइ अवधि बढ्न र स्थानीय क्षेत्रमा हुने खर्च विस्तार हुन सक्छ।

स्थानीय उत्पादनलाई प्राथमिकता किन?

शैलुङको अर्थतन्त्रलाई दिगो बनाउन स्थानीय उत्पादनलाई प्राथमिकता दिनु आवश्यक देखिन्छ। चौँरीको घिउ, दूध, स्थानीय आलु, सागसब्जी तथा अन्य कृषि उत्पादनलाई पर्यटकीय सेवासँग जोड्न सकिए स्थानीय अर्थतन्त्रमा थप अवसर सिर्जना हुन सक्छ।

होटल तथा लजले स्थानीय किसानबाट कृषि उपज खरिद गर्ने, पर्यटकलाई स्थानीय परिकार उपलब्ध गराउने र स्थानीय उत्पादनको स्पष्ट मूल्यसूची राख्ने अभ्यासले उत्पादक र व्यवसायीबीचको सम्बन्ध बलियो बनाउन सक्छ। त्यसैगरी, चौँरीको घिउ र दूधलाई स्वच्छतासम्बन्धी मापदण्ड पूरा गरी आकर्षक प्याकेजिङमा बिक्री गर्न सके पर्यटकले सम्झनाका रूपमा घर लैजाने वस्तुका रूपमा पनि विकास गर्न सकिन्छ।

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि सहकारी तथा किसान समूहको भूमिका महत्त्वपूर्ण हुन सक्छ। सामूहिक सङ्कलन, गुणस्तर परीक्षण, उचित भण्डारण र बजारसँगको प्रत्यक्ष सम्पर्कले किसानको उत्पादन बिक्री गर्न सहज बनाउँछ। यसबाट उत्पादनको मूल्यमा पारदर्शिता ल्याउन र स्थानीय क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न मद्दत पुग्न सक्छ।

तर, स्थानीय उत्पादनलाई प्राथमिकता दिनु भनेको मूल्य सधैँ कम राख्नु मात्र होइन। उत्पादकले आफ्नो श्रम र लागतअनुसार उचित मूल्य पाउनु, उपभोक्ताले गुणस्तरीय वस्तु प्राप्त गर्नु र व्यवसायीले दिगो रूपमा कारोबार गर्न सक्नु नै स्वस्थ स्थानीय अर्थतन्त्रका आधार हुन्।

प्राकृतिक सौन्दर्यसँगै आर्थिक सम्भावना

मेरो लगानी टिमको शैलुङ भ्रमणले सय थुम्काको प्राकृतिक सौन्दर्य, हिमालको मनमोहक दृश्य र सहकर्मीबीचको आत्मीयता मात्र दिएन, ग्रामीण अर्थतन्त्रका सम्भावना बुझ्ने अवसरसमेत प्रदान गर्‍यो।

चौँरीको घिउ र दूध, स्थानीय सागसब्जी तथा आलुका मूल्य, घोडसवारी र पर्यटकीय सेवाले शैलुङको अर्थतन्त्रका विभिन्न पाटा देखाउँछन्। यी गतिविधिलाई व्यवस्थित बजार, गुणस्तरीय सेवा र स्थानीय उत्पादनको प्रवर्द्धनसँग जोड्न सके शैलुङ पर्यटनको गन्तव्य मात्र नभई स्थानीय उत्पादनको पहिचान स्थापित गर्ने क्षेत्रका रूपमा पनि विकसित हुन सक्छ।

शैलुङको दिगो आर्थिक विकासका लागि पर्यटनबाट प्राप्त आम्दानी स्थानीय समुदायसम्म पुग्ने व्यवस्था, किसानको उत्पादनको उचित मूल्य, पूर्वाधारको सुधार र स्थानीय व्यवसायको प्रवर्द्धन आवश्यक छन्।

अन्ततः शैलुङको वास्तविक समृद्धि त्यहाँको प्राकृतिक सुन्दरता हेर्न आउने पर्यटकको सङ्ख्यामा मात्र होइन, पर्यटकले गर्ने खर्चबाट स्थानीय किसान, पशुपालक, व्यवसायी र समुदायले कति लाभ पाउँछन् भन्ने कुरामा निर्भर गर्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै पर्यटन र कृषिलाई एकअर्काको पूरक बनाउन सके शैलुङको अर्थतन्त्रलाई थप जीवन्त र दिगो बनाउन सकिन्छ।