कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशतविन्दुबाट ०.०७६५ प्रतिशतविन्दुले घटेर ४.०१३ प्रतिशतविन्दुमा झरेको छ।
त्यसैगरी, संस्थागत निक्षेपको औसत ब्याजदर पनि असोजको ३.०६६५ प्रतिशतविन्दुबाट ०.०६३५ प्रतिशतविन्दुले घटेर ३.००३ प्रतिशतविन्दु कायम भएको छ।
कात्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको छ, जसअनुसार बैंकले व्यक्तिगत निक्षेपको दरमा ०.८ प्रतिशतविन्दुले कमी गर्दै ३.७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतविन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ। त्यसैगरी नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत र संस्थागत दर ०.२६ प्रतिशतविन्दुले घटाएर २.७५प्रतिशत बनाएको छ।
प्रभु बैंकले पनि व्यक्तिगततर्फ ०.३प्रतिशतविन्दुले ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ। नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु (नयाँ दर ४ प्रतिशत), स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु (नयाँ दर ३.७ प्रतिशत), र कुमारी बैंकले ०.०३ प्रतिशतविन्दु (नयाँ दर ३.७ प्रतिशत) ले कटौती गरेका छन्। हिमालयन बैंकले भने व्यक्तिगत दर ४ प्रतिशत मै स्थिर राख्दै संस्थागत दरमा ०.२५ प्रतिशतविन्दुले कटौती गरी ३.२५ प्रतिशत बनाएको छ।
अर्कोतर्फ, एभरेष्ट बैंकले भने कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले बढाएर ३.७५ प्रतिशत पुऱ्याएको छ भने संस्थागत दर ३.२५ प्रतिशत मै यथावत राखेको छ। सानिमा बैंक (४.५ प्रतिशत), एनएमबि बैंक (४.५ प्रतिशत), माछापुच्छ्रे बैंक (४.५ प्रतिशत), कृषि विकास बैंक (४.१५ प्रतिशत), नेपाल बैंक (४.१५ प्रतिशत), लक्ष्मी सनराइज बैंक (४ प्रतिशत), एनआईसी एसिया बैंक (४ प्रतिशत), राष्ट्रिय वाणिज्य बैंक (४ प्रतिशत), प्राइम कमर्सियल बैंक (४ प्रतिशत), ग्लोबल आइएमई बैंक (४ प्रतिशत), सिटिजन्स बैंक (३.८५ प्रतिशत), र सिद्धार्थ बैंक (३.७६ प्रतिशत) सहित १३ वटा बैंकहरूले भने कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नगरी अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
