बीबीसीका अनुसार म्याड्रिडबाट सेभिलतर्फ गइरहेको रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किएको थियो। दुर्घटना बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीच भएको हो।
निजी रेल सञ्चालक कम्पनी इरियोले सञ्चालन गरेको रेलमा १४७ जना यात्रु सवार थिए। कम्प्युटर प्रणालीमा खराबी आएपछि उक्त रेल रोकिएको थियो। त्यसैक्रममा सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको इरियोले जनाएको छ। रेन्फेको रेलमा ३९७ जना यात्रु सवार थिए।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको कारण बनेको प्रारम्भिक विवरण छ। प्रणालीमा समस्या आएपछि म्याड्रिडस्थित २४ घण्टा सञ्चालन हुने नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी लिने व्यवस्था भए पनि गति सीमा निर्धारण नगरी रेलहरूलाई पुनः सञ्चालन गर्न निर्देशन दिइएको उनले बताएका छन्। उनले उक्त निर्णयलाई अस्पष्ट भनेका छन्।
दुर्घटनामा बाँच्न सफल यात्रुहरूले रेलभित्रको अवस्था भयावह रहेको बताएका छन्। ठक्करका कारण यात्रुहरू सिटबाट उछिट्टिएका थिए भने केही भग्नावशेषमा च्यापिएका थिए। बाहिर निस्कनका लागि यात्रुहरूले झ्यालसमेत फुटाउनुपरेको प्रत्यक्षदर्शीले बताएका छन्।
रेन्फेको रेलमा सवार ६२ वर्षीय साल्भाडोर अरिजाले ठक्करको प्रभाव भयानक रहेको बताएका छन्। उनका अनुसार केही यात्रु सिटबीच च्यापिएकाले चल्नसमेत सकिरहेका थिएनन्।
दुर्घटनापछि रेलको एउटा डिब्बामा आगलागी भएको थियो। घटनास्थलमा भग्नावशेषमा च्यापिएका यात्रुहरूले उद्धारका लागि गुहार मागिरहेका थिए। दुर्घटनास्थलका तस्बिरमा रेलको लिकको लामो टुक्रा एउटा डिब्बाभित्र छिरेको देखिएको छ।
उक्त दुर्घटनालाई पछिल्लो १३ वर्षमा स्पेनमा भएको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा हेरिएको छ।