एक सातामा ९ हजार ९०० रुपैयाँ घट्यो सुनको मूल्य, कुन दिन कतिमा कारोबार ?

Oct 31, 2026 06:47 AM Merolagani



पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत कात्तिक ७ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएकोमा एक हप्तापछि कात्तिक १३ गतेसम्म आइपुग्दा सुनको मूल्य ९ हजार नाैसय  रुपैयाँले घटेर २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

महासंघका अनुसार, गत कात्तिक ८ गते आइतबार एकैदिन सुनको मूल्य ११ हजार ७०० रुपैयाँले घटेर उक्त दिन सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, कात्तिक ९ गते सोमबार भने सुनको मूल्य बढ्यो । उक्त दिन सुन प्रतितोलामा तीन हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँमा किनबेच भयो ।

त्यस्तै, कात्तिक १० गते मंगलबार पनि सुनको मूल्य ८०० रुपैयाँले बढेको देखिन्छ । उक्त दिन सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, कात्तिक ११ गते बुधबार पनि सुनको मूल्य बढ्ने क्रम चलिरह्यो । उक्त दिन अघिल्लो दिनको तुलनामा ९०० रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भयो ।

त्यस्तै, कात्तिक १२ गते बिहीबार पनि सुनको मूल्य ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको यियो । र, हप्ताको अन्तिम दिन कात्तिक १३ गते शुक्रबार भने सुन प्रतितोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।